मध्यपुर थिमि भक्तपुर, ३० साउन २०८०ः
नेकपा माओबादी केन्द्रको सहायक युवा संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसीएल नेपाल) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज युवा नेता नरेश रन्जितले संघिय सांसद सुनिल शर्मालाई मनोहरा खोला कटेर भक्तपुर नआउन खबरदारी गरेका छन।
प्रहरीले सांसद शर्माको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंकामा अनुसन्धान गर्दै गरेको स्थितिमा संसदमा शर्माले प्रधानमन्त्री र गृहमन्त्री माथि खराब टिप्पणी गरेपछि वाइसीएलका जिल्ला इन्चार्ज रन्जितले सो खबरदारी गरेका हुन।

वाइसीएल इन्चार्ज रन्जितले सुशासनका पहलकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पक्षमा देशका सम्पुर्ण परिवर्तनकारी युवाशक्ति रहेको उल्लेख गर्दै भक्तपुरका कुनै डन र भगवानले शर्मालाई बचाउन नसक्ने बताएका छन् ।
” मेडिकल माफिया, फटाहा, तस्कर सुनिल शर्मालाई मनोहरा खोला कटेर भक्तपुर प्रवेश नगर्न खबरदारी गर्दछौं ।” ईन्चार्ज रंजितले बताए।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो। तर नियन्त्रणमा लिएको भोलि पल्ट नै काठमाण्डौ जिल्ला अदालतले निजलाई थुनामा नराखि अनुसन्धान गर्नु भनि रिहा गरेको थियो।
रिहा भए लगतै शर्माले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको खुलेरै तारिफ गरेका थिए। अध्यक्ष केपि शर्मा ओलीको निजि निवास भक्तपुरको बालकोटमा रहेको छ।