खेलाडीहरु राजनीतिबाट अलग हुन नसक्ने ः प्रमुख प्रजापति

भक्तपुर, २०८० भाद्र ३ सोमबारः

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरु देशको राजनीतिबाट अलग हुन नसक्ने बताउँदै देशको राजनीतिले खेलाडीहरुलाई प्रभाव पारिरहेको हुन्छ भन्नुभयो । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा आइतबार आयोजित बधाई कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले युवा खेलाडीहरु अनुशासित हुनुपर्ने र समाज परिवर्तनमा योगदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि नमुनाकै रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘भनपाले दुईवटा कभर्ड हल निर्माण सम्पन्न गरिसकेको छ । अरु निर्माणको प्रक्रियामा छ । भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन योगदान गर्नुपर्छ ।’ सरकारको गलत नीतिको कारण युवाहरु विदेशिन बाध्य भएको चर्चा गर्दै प्रमुख प्रजापतिले श्रम रोजगारी स्वीकृति लिएर वर्षको आठ लाख र उच्च शिक्षा हासिल गर्न एक लाख दश हजार गरी नौ लाख युवाहरु विदेशिएको बताउनुभयो ।‘युवा विदेश पठाएर पुँजीवादी शासकहरु देशमा आन्दोलन र संघर्ष रोक्ने कोसिस गर्दैछन् तर तिनीहरुको सपना पूरा हुनेछैन । युवाहरु विदेश पठाउँदैमा देशमा क्रान्ति रोकिने छैन’ — उहाँले भन्नुभयो ।

कार्यक्रममा नगर खेलकुद समितिका पूर्व संयोजक एवं ७ नं. वडाध्यक्ष उकेश कवाँले खेलाडीहरुले आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउँदै खेल राजनीतिक परिवर्तनको लागि, देशको लागि र कामदार जनताको निम्ति हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवं १ नं वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुद समाज परिवर्तनको लागि हो, पैसा कमाउनको निम्ति होइन भन्नुभयो ।
भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु, बागमती प्रदेश बक्सिङ संघका सल्लाहकार विश्वराम कवाँ, भक्तपुर जिल्ला बक्सिङ संघका सल्लाहकार रविन्द्र खर्बुजा र साजन लघुले पनि बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा बागमती प्रदेश बक्सिङ संघको दोश्रो पूर्ण बैठकले सल्लाहकार नियुक्ति भएका विश्वराम कवाँ र भक्तपुर जिल्ला बक्सिङ संघमा उकेश कवाँ, विनोदचरण राय, रविन्द्र खर्बुजा र केशव त्वानाबासुलाई सल्लाहकारमा मनोनयन भएकोमा बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!