भाद्र ५, २०८० मंगलबार
नेपालका अभय महरा र कविर केसीको जोडी तथा दिलासा राना र रिहाना शेरचनको जोडी काठमाडौंमा जारी ब्याडमिण्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपमा दुई स्वर्ण दिलाउनबाट चुकेका छन् ।
ब्याडमिण्टन एशिया (दक्षिण एशिया) रिजनल जुनियर च्याम्पियनसिपको अभय र कविरको जोडी यु–१७ ब्वाइज डबल्स पराजित हुँदा दिलासा र रिहानाको जोडीले यु–१५ को गल्र्स डबल्समा हार व्यहोरेका हुन् । ब्याडमिण्टन एशियाको आयोजनामा हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ क्लवमा जारी च्याम्पियनसिपको फाइनलमा कविर र अभयको जोडी बंगलादेशका राजोन मिया र एसएसए सिफात उल्लाहसँग २१–११, २१–११ को सोझो सेटमा पराजित भए । यससँगै सिफातको नाममा तीन सफलता रह्यो ।
गल्र्स डबल्समा श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जिते । यो जोडीले फाइनलमा नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१–१२ ,२१–४ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । यु–१७ उमेरसमूहकै ब्वाइज सिंगल्समा पनि सिफात उल्लाहले स्वर्ण जिते । सिफातले फाइनलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले हराउँदै स्वर्ण जितेका हुन् । अन्य विधामा श्रीलंकन खेलाडी हाबी भए । गल्र्स सिंगल्समा श्रीलंकाकी रनिथमा लियाङ्गे आफ्नै देशका रनुमी मनागेलाई फाइनलमा २१–६, २१–८ ले हराउँदै स्वर्ण जितिन् । गल्र्स डबल्समा भने रनिथमाले रनुमी मनागेसँग मिलेर श्रीलंकालाई अर्को स्वर्ण जितिन् ।