काँग्रेसले तत्कालका लागि ‘समुदायमा काँग्रेस’ कार्यक्रम स्थगित गर्यो

भाद्र ५, २०८०ः

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले ‘समुदायमा काँग्रेस’ कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले हालै सम्पन्न केन्द्रिय कार्य समितिले भाद्र १० देखि २४ गतेसम्मका लागि तय गरेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताएको हो । अविरल वर्षा, बाढी, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भिर रुपमा प्रभावित भएकाले उनीहरुको सेवामा जुट्न पार्टी संगठनहरुलाई आह्वान गर्दै अर्को निर्णय नभएसम्मका लागि सो कार्यक्रम स्थगन गर्ने निष्कर्षमा पुगिएको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अविरल वर्षा, बाढि, पहिरो, डेंगु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भिर रुपमा प्रभावित भएकाले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरुलाई आह्वान गर्ने र भाद्र १० देखि २४ गतेसम्म गर्ने तय भएको कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ ।’

नेपाली काँग्रेसले श्रावण २० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएका पार्टीको विशेष आन्तरिक अभियान पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै त्यस अभियानमा संलग्न पार्टी नेता र कार्यकर्तालाई आभार व्यक्त गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले सो अभियानले पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन पनि महत्वपूर्ण कार्य गरेको बताउनु भयो । सो विशेष अभियानमा लागि नेपाली काँग्रेसले पार्टीका सांसद बाहेकका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुलाई सबै जिल्लामा केन्द्रिय प्रतिनिधिको रुपमा परिचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!