राष्ट्रिय फोटो पत्रकार समूहको २६औँ वार्षिकोत्सव सम्पन्न ः बिभिन्न फोटो पत्रकारहरु पुरस्कृत

काठमांडौ, असोज ६, २०८०ः
शकुन्तला राना मगर

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा साधारणसभाले गरेका निर्णयहरू र आगामी योजनासमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा कार्यवाहक अध्यक्ष सुशील श्रेष्ठले अध्यक्ष प्रदीपराज वन्तका तर्फबाट प्रतिवेदन पेस गरे । उक्त प्रतिवेदनमा वन्तले चालू आर्थिक वर्षभित्र संस्थाले गर्ने कार्यक्रम र अवलम्बन गरेको रणनीतिबारे प्रस्ताव समेटेका थिए ।

यसअघि गरिएका कामको विवरण कार्यबाहक महासचिव घनश्याम श्रेष्ठले प्रस्तुत गरे । वार्षिक प्रतिवेदन कोषाध्यक्ष सागर श्रेष्ठले प्रस्तुत गरे । उनले २०७९÷८० को आम्दानी विवरणसमेत सार्वजनिक गरे ।

स्थापनाको २७ वर्षमा प्रवेश गरेको अवसरमा एनएफपीजेले विभिन्न फोटो पत्रकारहरूलाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले वरिष्ठ फोटो पत्रकार सम्मानबाट श्रीधरलाल मानन्धर, राम गुरुङ, शेखर चौलागाई र प्रवीण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी निरन्तर २५ वर्ष फोटोग्राफीमा योगदान गरेबापत राजभाइ सुवाल सम्मानित भए ।

यसै वर्षदेखि एनएफपीजेले ‘प्रेसिडेन्ट अवार्ड’को शुरुवात गरेको छ । अध्यक्षको स्वविवेकले दिने भनिएको यस वर्षको अवार्ड एनएफपीजेकै कोषाध्यक्ष सागर श्रेष्ठले पाए ।

यस्तै, हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानअन्तर्गत साहसिक फोटो पत्रकारिता पुरस्कार कल्पना महर्जन, संस्कृति सम्पदा पत्रकारिता पुरस्कार रत्न कृष्ण श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार सुरेशकुमार श्रेष्ठ, खेल पत्रकारिता पुरस्कार विजय महर्जन र पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कार अम्बी तोलाङले पाए । पर्यापर्यटन विधामा गत वर्ष पुरस्कार पाए पनि अनुपस्थित रहेका नारायण सिलवालले यसै कार्यक्रममा गत वर्षको पुरस्कार बुझे ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई दिइयो ।

कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री महतोले फोटो पत्रकारहरू मुलुक समृद्धिको अंग भएको बताए । समाजलाई सुसूचित गराउन फोटो पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । ‘केही साथीहरूले ज्यानकै बाजी राखेर फोटो खिचेको पनि देखेको छु । ती फोटोले हाम्रो देशको संस्कृति, सभ्यता देखाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालमा भएका चिजहरूलाई उजागर गरेको छ । पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ’, उनले भने ।

कार्यक्रमका विशिष्ट सांसद रामहरि खतिवडाले फोटो पत्रकारितामार्फत खबरदारी सधैं अपेक्षा गरेको बताए । खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार अधिकारीले फोटो पत्रकारिताले आलोचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!