एकजना विद्धानले भन्नु भएको छ, सिद्धान्तमा अलिकता मात्रै विचलित हुनु पनि हिमालयमा चिप्लेति खेल्नु जस्तै हो । पद र सिद्धान्तको लागि आफ्नो जिउ ज्यान अर्पण गरी लागेका कम्युनिष्ट कार्यकर्ताहरु समेत आफू स्वयम सिद्धान्त छोडेर आफूलाई लाभको पद आउने बिटिक्कै त्यसमा भुल्ने प्रबृत्ति हाबी हुँदै गइरहेको छ । त्यति मात्रै होइन निःस्वार्थ रुपमा काम गर्ने कार्यकर्ताहरुले कतिपय लाभको पद त्याग गरेर भएपनि सिद्धान्त र आस्थाको लागि निरन्तर काम गरिरहेका हुन्छन् । देश र जनताको सेवा गर्नु नै मूल उद्देश्य सम्झेर बसेका इमान्दार नेता कार्यकर्ताहरुले सरकारमा जाने, लाभको पदमा रहने वा स्वार्थ सिद्ध गर्नको लागि आफ्नो नैतिकता र पार्टी सिद्धान्तलाई तिलाञ्जली दिँदैनन् । यो कुरालाई भाषणमा होइन कि ब्यवहारमा सिद्ध गर्न सकियो भने मात्रै यो समयमा विश्वास बढ्छ ।
राजनीतिक दर्शनमा आधारित आदर्श समाज निर्माणको लागि पार्टी सिद्धान्त प्रति प्रतिवद्ध राजनीतिक नेता कार्यकताहरु महत्वपूणर् हुन्छन् । पद र पैशाको लागि काम गर्ने होइन । देश र जनताको सेवाको लागि काम गर्न राजनीति गर्ने हो भन्ने कुरा उनीहरुले राम्ररी बुझ्नु जरुरी छ । त्यसबाट मात्रै समग्र नेपाली जनताको हीतको लागि काम गर्न उनीहरु तयार रहन्छन् । त्यति मात्रै होइन जेल नेल भोग्ने, राजनीतिक सिद्धान्तलाई ब्यवहारमा प्रयोग गर्ने, सामान्य जनताको हीतलाई ध्यानमा राखेर आफ्नो जीवनशैली सुधार गर्ने कार्य त्यस खालको सिद्धान्तमा प्रतिवद्ध ब्यक्तिहरुले सजिलै गर्दछन् । त्यो उनको राजनीतिक नैतिकता पनि हो । तर आज हाम्रो देशमा त्यस्ता सिद्धान्त र आदर्श प्रति प्रतिवद्ध नैतिकवान राजनीतिक नेता कार्यकताहरुको अभाव कड्किएका छन् ।
कम्युनिष्ट पार्टीको आफ्नै सिद्धान्त, विचार र आदर्श रहेको हुन्छ । सो सिद्धान्त अनुसार आफू मात्रै खाउँला, आफू मात्रै लाउँला भन्ने अलिकता पनि मान्यता रहन्न । आफू, आफ्नो परिवार जति महत्वपूणर् हो, अरुलाई पनि त्यति कै सुख, सुविधा र श्रमको भागीदार बनाएर सामुहिक एकता र सामुहिक रुपमा लाभांश प्राप्त हुने गरी काम गर्दै जाने समाजवादी सिद्धान्त हो, कम्युनिष्ट आदर्श हो । त्यसैले पनि पद र पैशाको लागि सिद्धान्त छाड्ने कोही पनि कम्युनिष्ट हुन सक्दैन । यो आदर्शलाई ध्यानमा राखी जीवनमा विभिन्न खालका दुःख कष्ट र यातना भोग्ने क्षमता विकास गरी आफ्नो जिउ ज्यानलाई इस्पात झैं कडा गरी मन पनि त्यतिकै दरो पार्न सक्ने नैतिकवान भएर बाँच्नेलाई मात्रै कम्युनिष्ट भन्न सकिन्छ । त्यसो नभै मौका मिलेको खण्डमा सरकारमा जान जहिले पनि तयार भएर सडक आन्दोलन गर्दा गर्दै राजाले दरवारमा प्रधानमन्त्री बनाउन बोलाउला कि भनेर आफ्नो पिता बित्दा पनि बर्खि समेत नबसी दौरा सुरुवाल झोलामा हाली दरवारको बोलावट पर्खेर बस्नेलाई कसरी कम्युनिष्ट भन्ने ? हाम्रो देशमा त्यस्ता अनैतिक भ्रष्ट नेताहरु छ्यास छ्यास्ती देखा परिरहेका छन् ।
पूँजीवादी विचार सिद्धान्तको विरोध गरी काम गरी खाने ज्यापु ज्यामि वर्गको स्वार्थ समाजवादी आदर्श समाजको निर्माण गर्नु कम्युनिष्ट पार्टीको नैतिक धर्म हो । कम्युनिष्ट पार्टीको त्यस खालको आदर्श ब्यापक जनताको माझमा फैलाउनु नेता कार्यकर्ताहरुको मूख्य कर्तब्य हो । आज नभएपनि भोलि जनताले कम्युनिष्ट पार्टीको आदर्श अनुरुप काम गरी खाने वर्गको शासन सत्तामा हात हाल्ने गर्दछ भन्ने बुझ्नु जरुरी छ । कम्युनिष्ट पार्टीको आदर्श भनेको माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुंग विचारधारालाई आत्मसात गरी आदर्श समाज निर्माण गर्नु हो । आफ्नो लक्ष्य र सिद्धान्त बारे देश र जनतालाई सचेत नगरी पूँजीवादी विचारमा भाग लिएर धेरै सिट जितेर सरकारमा जानु मात्रै कम्युनिष्ट नैतिकता होइन । त्यसरी सरकारमा जाने राजनीतिक पार्टीहरुले समग्र समाजलाई आमूल परिवर्तन गर्ने सम्भावना रहन्छ ।
हाम्रो देशका कतिपय पूँजीवादी दलहरुले आफूहरु स्पष्ट पूँजीवादी प्रजातन्त्रमा विश्वास गरी रहेका भनिएका छन् । तर कतिपय छडमभेसी कम्युनिष्ट पार्टी भन्नेहरुले समेत आफ्नो नाम मात्रै कम्युनिष्ट राखेर सिद्धान्त र विचारधारामा भने कहिल्यै पनि कम्युनिष्ट आचरण नदेखाएर देखाउने दाँतको रुपमा मात्रै कम्युनिष्ट सिद्धान्तबाट सिंगारिरहेका छन् । वास्तवमा काम गरी खाने ज्यापु ज्यामिहरुलाई सिद्धान्त र विचारले प्रभावित गरी उनीहरुलाई वर्गीय राजनीति र सिद्धान्तको कुरा बुझाउनु र समाजवादी समाज निर्माणको आन्दोलनमा अग्रसर गर्ने कार्य अत्यन्तै गाह्रो काम हो । तर यो असम्भव भने होइन । संसारमा त्यस्ता थुप्रै उदाहरण कायम भएका छन् । त्यसैले समग्र समाजको परिवर्तनलाई नहेरी पद र पैशामा बिस्के, पैशाको लागि राजनीति सिद्धान्त र पार्टी समेत त्याग्न सक्ने कोही पनि कम्युनिष्ट बन्न सक्दैन । पूजीवादी दलहरुले पहिलादेखि कम्युनिष्ट पार्टीका नेताहरुलाई पद र पैशाको लोभ देखाउने गरेका छन् ।
चीन, क्यूवा, प्रजातान्त्रिक जनवादी गणतन्त्र उत्तर कोरिया सहित पूर्व सोभियत संघबाट कम्युनिष्टहरुले सैद्धान्तिक ज्ञान हासिल गर्न सक्नु पर्दछ । उनीहरुले आफ्नो देशमा आदर्श समाज वा समाजवादी समाज स्थापनाको लागि सिद्धान्त र त्यो सिद्धान्त अनुरुप ब्यवहार कायम गर्नको लागि कस्तो खालको दरिलो संघर्ष गरेको थियो भन्ने कुरा राम्ररी बुझ्नु आवश्यक छ । समाजवादी समाज निर्माण गर्नु त्यति सजिलो कुरा भने होइन । त्यसो भएर पनि संघर्ष, फेरि संघर्ष र अर्को पनि फेरि संघर्ष भन्ने स्तालिनको सिद्धान्त र विचारलाई राम्ररी बुझेर हिजो सोभियत संघ, चीन र भियतनाम जस्ता समाजवादी समाजसम्म पुग्न पूँजीवाद र सामन्तवादसंग गरेको संघर्षको पाठ कम्युनिष्ट आदर्श अंगालेका नेपाली राजनीतिक पार्टीहरुले बुझ्नु पर्दछ । कम्युनिष्ट पार्टीका अगुवा नेताहरुको जीवनी प्रकाशन गरेर भएपनि त्यसको पाठ जन जनमा पुर्याउन सकेको खण्डमा बिस्तारै उक्त आदर्श समाज निर्माणको लागि जनता तयार हुँदै जानेछन् । होइन भने हिजो समाप्त नै भयो भनिसकेको राजतन्त्र र सामन्ती ब्यवस्थाले आज फेरि बिस्तारै आफ्नो उपस्थिति देखाउन थाले झैं गरी रत्नपार्कदेखि भक्तपुरसम्म रहेका ठाउँ ठाउँका आकाशे पुलमा फेरि श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर विक्रम शाहदेव सरकारको सवारी भनेर लेख्ने अधिकार कायम नै रहनेछन् ।
सच्चा कम्युनिष्ट पार्टीहरुले भए किसान, मजदुर, युवा, विद्यार्थी, बुद्धिजिवी र ब्यापक जनताबाट एक एक रुपियाँ चन्दा संकलन गरेर भएपनि जनतालाई सुसुचित गर्ने कार्यमा उक्त रकम खर्च गर्ने गर्दछन् । त्यसरी जनताबाट संकलन गरिएका रकमबाट नै पूँजीवादी ब्यवस्थाको विरोध गर्न र पूँजीवादी ब्यवस्थाको कमी कमजोरीहरुलाई छर्लंग देखाउन र समाजवादी ब्यवस्था स्थापनाको लागि जनतालाई राष्ट्रिय अन्तर्राष्ट्रिय नेता कार्यकर्ताहरुको जीवनी प्रकाशनको लागि र पत्रपत्रिका निकाली जनताको बस्ती बस्तीसम्म पुर्याउनको लागि खर्च गर्ने गर्दछन् । त्यस खालको कार्यले मात्रै वास्तवमा जनतालाई समाजवादसम्म पुर्याउनको लागि आत्मबल प्राप्त हुने गर्दछन् । यो कार्य कम्युनिष्ट पार्टीको धर्म भित्र पनि पर्दछन् ।