दशैंको मुखमा अखाद्य बस्तुको बिगबिगी ० कृष्ण प्रजापति

नेपाली मात्रको महान पर्व दशैं तपार्इं हाम्रो घर आगनमा आइपुगेको छ । यही समयमा विभिन्न खालका खाने, पिउने र लाउने जस्ता दैनिक उपभोग्य बस्तुको माग बढ्ने गरेको छ । हुन त आर्थिक मन्दीको कारण पहिला पहिला जसरी मानिसहरुले दिल खोलेर खर्च गर्ने हुन् । यो पालि त्यसरी खर्च गर्ने क्षमता नेपाली जनताहरुसंग देखिने गरेको छैन । त्यसो भएर पनि ब्यापार ब्यवसायमा आफ्नो जीवन सञ्चालन गरिरहेकाहरुले भने ऋणै काढेर भएपनि मनाइने यो दशैंको लागि विभिन्न खालका नयाँ नयाँ सामग्रीहरुको उत्पादन र बिक्रि वितरणको लागि तयारी गरिसकेका छन् । त्यस्ता चीजहरु मध्ये खाद्य बस्तुको कुरा गर्ने हो भने थुप्रै अखाद्य बस्तु मिसाएर बस्तुलाई राम्रो देखाउनको लागि प्रतिश्पर्धा सुरु भइरहेको पनि उपभोक्ताहरुले चाल पाइसहेका छन् । पर्वलमा रंग लाएर बेच्ने, नपाकेका फलफूहरुलाई इन्जेक्सन दिएर पकाई बेच्ने देखि लिएर खानै नमिल्ने खाले कुहेका चीजहरुलाई समेत नयाँ जस्तो बनाएर बेच्ने काइदा हाल बजारमा चर्को ढंगमा भइरहेका छन् । त्यसमा स्थानीय प्रशासन, स्थानीय निकाय र वडा कार्यालयको तर्फबाट आ आफ्नो क्षेत्रमा अनुगमनको कार्य सुरु गरी नेपाली जनताको महान पर्व दशैंको तयारी गरिरहेका छन् ।

दशैंमा तिब्यत चीनदेखि नेपालको हिमाली क्षेत्रबाट रत्नपार्क, टुंडिखेल र भक्तपुरको ९९ रोपनी जग्गा भनिने सल्लाघारीको १०८ रोपनी जग्गामा च्यांग्रा ल्याउने गर्दछन् । यो वर्ष त्यो पनि अहिलेसम्म ल्याउन सकेको अवस्था छैन । मानिसहरुसंग क्रय शक्ति कमी भएको, विभिन्न फाइनान्स कम्पनी र सहकारीहरु भागाभागको अवस्था रहेको र देशमा आर्थिक मन्दीका कारण किलोको आठ नौ सयमा किन्नु पर्ने च्यांग्राको मासु खान नसक्ने देखिएकाले यस्तो अवस्था सिर्जना भइरहेको हो । मानिसहरु किलोको चार सयमा पाइने मासु खान समेत धौधौ परिरहेका छन् । सके मासु नै नभित्रयाइकन दशैं टुंग्याउने उपाय गरिरहेका छन् । फलफूलले मात्रै पूजा टुंग्याउने सोच पनि कयौंले गरिसकेका छन् । यस्तो अवस्थामा पनि यो समयमा प्रयोग गरिने सुन्तला, स्याऊ, केरा र अनार जस्ता फलफूलहरुमा समेत कुनै न कुनै रुपमा अखाद्य बस्तु मिसाएर बेच्ने गरेकाले झन खतरा बढिरहेको देखिन्छ ।

गोकणर् औंशीको समयमा मधेशी जातिले राखेका पसलहरुदेखि स्थानीय खुद्रा पसलेहरुले समेत ब्यापक रुपमा अखाद्य बस्तु तथा रंग प्रयोग गरी मिठाई बेचिएको पाइएको थियो । यो अहिलेसम्म पनि रोकेको छैन । त्यसैले दशैंको यो घडीमा थप अखाद्य बस्तुको कारण मानिसहरु बिरामी पर्ने, खोकी आउने र पछि सम्म निको नहुने दीर्घ रोग समेत लाग्ने सम्भावनाहरु बढेका छन् । त्यसैले सरकार र स्थानीय निकायले ध्यान दिनु जरुरी भैसकेको छ । मिठाईमा सबै भन्दा बढी रंग मिसाउने गरिन्छ । त्यस्ता चीजहरु खायो भने घाँटी दुख्ने, खोकी लाग्ने र रुघा लाग्ने रोग देखा पर्दछ । त्यसले पछि सम्म स्वास्थ्यमा हानी गरिरहन्छ । यो सामान्य रंगको प्रयोगको नकारात्मक परिणाम भयो । अझ फलफूलमा इन्जेक्सन प्रयोग गरी नपाकेको फलफूललाई चाँडो पाक्ने गरेको खण्डमा त्यसले क्यान्सर समेत हुन सक्ने कुरा विज्ञहरु बताउँछन् । त्यसो भएपछि हामीले चाँड पर्व मनाउने भनेको चाँड रक्सी खाएर मात्रै शरीर बिग्रने होइन कि फलफूल र मिठाईको प्रयोगले समेत हाम्रो शरीरमा नकारात्मक असर पर्ने कुरा बैज्ञानिक रुपमा प्रमाणित भइसकेको छ ।

बजारमा सजाएर राखेको मिठाई महिना दिन मात्रै होइन कि वर्षौं वर्ष सम्म समेत पुरानो हुने गरेको पाइएको छ । त्यसलाई नयाँ जस्तो बनाउन बाहिरबाट त्यस खाद्य बस्तुमा अखाद्य पलिस लाइदिने र नयाँ जस्तो बनाउने गरेको पनि हामीलाई थाहा छ । त्यस भित्र किरा परिसकेको पनि हुन सक्दछ । बाहिर भने टल्काउनको लागि पलिस राख्ने गरिन्छ । उक्त पलिस पनि असाध्यै कडा डाल्ला घ्यू, अखाद्य रंग र अखाद्य बस्तुहरुबाटै तयार पारिएका हुन्छन् । त्यसमा खान हुने बस्तु भन्दा बढी खानै नहुने र बस्तुलाई सजाउने चीज मात्रै हुन्छन् । यो कुरा बजार अनुगमनमा जानेले बुझ्नु जरुरी छ । नाप तौल विभागले प्रत्येक वर्ष झैं ढक, तराजु र अन्य चीजहरुको अनुगमन गरे झैं गरी वडा कार्यालय, नगरपालिका र गाविसले पनि यस्ता अखाद्य बस्तु बेच्ने पसलमा अनुगमन गरी त्यस्ता बस्तुहरुलाई नष्ट पार्न खोज्यो भने बल्ल हाम्रो स्वास्थलाई नकारात्मक असर पर्नबाट बचाउन सकिन्छ । होइन भने दशैं पछि ऋण बोक्दै गरेका नेपालीहरुले थप ऋण बोक्नु पर्ने गरिकन रोग निको पार्नको लागि खर्च गरेर वा आर्थिक नोक्सानी भोग्न बाध्य हुनेछन् । शरीरमा नकारात्मक असर पर्नेछन् ।

यसरी, दशैं, तिहार र नयाँ वर्ष अगाडि आएर खुसियाली मनाउनु पर्ने बेला यदि सचेत हुन सकिएन भने हामीले दैनिक जसो खाने चीज नै विष भएर हाम्रो आयु समाप्त गर्ने कार्यतिर हामी आफै लागिरहेका हुन्छौं । यो कुरालाई केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उचित रुपमा ध्यान दिएर त्यस खालको अखाद्य बस्तु बेच्ने गरेका पसल, कम्पनी र खुद्रा ब्यापारीहरुको निगरानी राखेर अनुगमनको काम गर्न सके हिजो पंचायती ब्यवस्था चलिरहेको बखत जसरी सामानमा एक रुपियाँ मात्रै भाऊ बढाएको खण्डमा पनि जेल नेलको सजायँ भोग्न बाध्य पारिएको थियो । अहिले पनि कडा कानूनी प्रावधान आवश्यकता महसुस हुने गरेको छ । होइन भने भ्रष्टाचारी, कालो बजारिया र तस्करहरुले मानिसहरुको दैनिक जीवनसंग खेलवाद गरी पैशा मात्रै कमाउन पाएपछि पुग्ने झैं गरी दैनिक अस्वस्थ हुने मात्रै होइन कि काल समेत पर्खिरहेका हुन्छन् । जानाजान विष खाएर दशैं तिहार मनाउन हामी बाध्य भइरहेका हुनेछौं ।

कतिपय खाद्य पदार्थमा तिथि मिति नै नराखी बनाएका हुन्छन् । कति बस्तुहरुमा मिति नाघेर पनि नयाँ मिति टाँसेर सामान बेच्ने गरेका हुन्छन् । यति सम्म कि नयाँ शैक्षिक सत्र सुरु हुनु अगाडि किताब पसलहरुमा भएको अनुगमनको क्रममा पुस्तकको बास्तविक मूल्य छोपेर नयाँ मूल्य टाँसेर महंगोमा किताब बेच्ने गरेको पाइएको थियो । पुस्तकको ब्यापार गर्दा ४० प्रतिशत सम्म कम्पनीले नै कमिशन दिने गरेको हुन्छ । त्यसमा समेत यसरी अबैध काम हुने गर्छ भने तरकारी पसले, मिठाई पसले, मासु पसले र अन्य खाद्य बस्तुका पसलेहरुले गरिरहेको मिसावत बारे कसले कहाँ कहिले किन ध्यान राख्न भ्याइन्छ र ? त्यसैले त्यस्ता कुराहरुमा अनुगमन गर्ने अख्तियारी पाएका स्थानीय जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार नै चनाखो हुनु जरुरी छ । अनि मात्रै बास्तविक जनताको जीवनसंग सम्वन्धित दैनिक उपभोग्य बस्तुमा अखाद्य बस्तु मिसाएर बेच्ने कार्यहरु केही मात्रामा भएपनि नियन्त्रण गर्न सकिन्छ । होइन भने दशैं तिहारले हामीलाई हाम्रो काल भएर पर्खिरहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!