काठमाडौं, असोज २२ गते ।
काठमाडौँ महानगरपालिकाले आफ्ना नगरबासीलाई निशुल्क रगत एब रक्त तत्व उपलब्ध गराउने भएको छ। यस सम्बन्धि आज काठमाडौँ महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बिच सम्झौता भएको छ ।
महानगरप्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले रगत प्राप्त गर्न कसैलाई फोन गर्नुपर्ने, सिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
उपप्रमुख डङ्गोलले भन्नुभयो, “नियमित रक्तदान कार्यक्रम र सङ्कलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई सिफारिस गर्नुपर्ने स्थिति हुँदैन ।” महानगरबासीबाट थालिएको निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिने उहाँको भनाइ छ ।
जनस्वास्थ्य विभागका प्रमुख पौडेलकाअनुसार महानगरपालिकावासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ ।