वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढिरहेकोमा चिन्ता
भक्तपुर, असोज ३०, २०८०ः
कृष्ण किसि
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा जीआईजेड आरएएसको प्राविधिक सहयोगमा आज संघको सभाहलमा सञ्चालित करसम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले महासंघले विशेषगरी युवा, महिला उद्यमशीलता विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महासंघले देशका युवा वर्गलाई उद्यमशील बन्न प्रोत्साहित हुने विभिन्न क्रियाकलापहरुमा जोड दिँदै आएको जानकारी दिए ।
उनले देशको आर्थिक उत्थान र विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहेको बताए । हाल देशमा व्याप्त आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रको प्रतिनिधित्व गरिरहेको महासंघले सरकारसँग छलफल गरी विभिन्न उपाय सहितको सल्लाह सुझाव दिँदै आएको उनले जानकारी दिए ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले करसम्बन्धी राम्रो जानकारी नहुँदा उद्योगी, व्यवसायीहरुले विभिन्न समस्या भोग्नु परिहेको भन्दै तालिममा सहभागी युवा उद्यमीहरुलाई तालिमबाट भरपूर फाइदा लिनुहुन आग्रह गरे । कर प्रणालीबारे स्पष्ट हुन सकेको खण्डमा कानुनसम्मत तरिकाले उद्योग व्यवसाय सञ्चालन हुने उनको भनाइ छ । करसम्बन्धी ज्ञान नहुँदा धेरैजसो उद्योगी, व्यवसायीहरुले अनाहकमा दुःख पाइरहेको भन्दै उनले सोही समस्या निराकरणको लागि पनि तालिमको आयोजना गरिएको बताए ।

सो अवसरमा महासंघको कार्यकारिणी समिति सदस्य तथा महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठ, संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव दिनेश गोसाईं, कार्यसमिति सदस्य श्रीया बल्ल, महासंघका सहायक निर्देशक लोकराज जोशीलगायतले आआफ्नो धारणा राखेका थिए ।
एसआर पाण्डे एन्ड कम्पनीका सिए लक्ष्मीप्रसाद लुइँटेल र आस्था बिष्टले सहभागघरुलाई तालिम दिएका हुन् । प्रशिक्षकहरुले तालिममा आयकर दाखिला, आयकर विवरण बुझाउने, टीडीएस कट्टी, बजेटमा भएका करसम्बन्धी परिवर्तन, आर्थिक ऐन तथा नीतिमा भएका करसम्बन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिएका थिए । तालिममा ७५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।