काठमाडौँ, असोज ३०, २०८०ः
नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।
लाओसको न्यु लाओस नेसनल स्टेडियममा खेलको ५२ औँ मिनेटमा मनिष डागींले गरेको गोलले नेपाललाई विश्वकप फुटबल छनोटको दोस्रो चरणमा पुगाएको हो । पाँच दिनअघि दशरथ रङ्गशालामा भएको पहिलो लेगमा लाओससँग १–१ ले बराबरीमा रोकिएपछि नेपालको दोस्रो चरण प्रवेश कठिन देखिएको थियो । तर नेपाल समग्रमा २–१ गोलको नतिजासहित अगाडि बढ्न सफलभयो ।
घरेलु टिम लाओसले खेलको पहिलो हाफमा दबाब बनाएपछि नेपाल समस्यामा देखिन्थ्यो । तर मध्यान्तर पछिको खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्यो । उत्तरार्धको सातौँ मिनेटमा नै अञ्जन विष्टले डिबक्सभित्रबाटै पास दिएको बललाई मनिषले गोलपोस्टमा छिराएर नेपाललाई अगाडि पार्नुभयो र सोही गोलले खेलको छिनोफानो गर्यो ।