प्यालेस्टाइनमा युद्धको प्रभाव ० कृष्ण प्रजापति

संसारमा कुनै न कुनै निहूँ बनाएर एक जाति र अर्को जाति, एक धर्माबलम्बी र अर्को धर्माबलम्बी अनि एक देश र अर्को देश बीचमा युद्ध हुने गरेका छन् । त्यस्ता युद्धहरुले निकै धेरै मात्रामा धनजनको क्षति त हुने नै भयो । साथ साथै मानव सभ्यतालाई समेत तहस नहस पर्ने गरी विनाश गरेका यहाँ थुप्रै उदाहरणहरु पाइन्छन् । पहिलो विश्वयुद्ध र दोश्रो विश्वयुद्ध यस्तै खालका विश्वका मुलुकहरुले सहभागीता जनाएका युद्धहरु थिए । त्यस युद्धमा परी लाखौं ब्यक्तिको ज्यान गयो । कहिले जर्मनले जित्यो, कहिले भने अमेरिकाले जित हाशिल गर्यो तर मानव सभ्यताले भने जहिले पनि हार्यो । सभ्यता नै समाप्त गर्नको लागि त्यसले ठूलो भूमिका निभायो । यसरी युद्ध भएर मानव सभ्यतामा परेको नोक्सानी भने दीर्घकालसम्म रहिरह्यो । आज आएर इजरायल र प्यालेस्टाइनी जनताको युद्ध पनि त्यसैगरी समाधान हुन नसकेको भीषण युद्धमा परिणत भएको छ । संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तर्राष्ट्रिय निकायहरुले युद्ध छाडेर शान्ति सम्झौताको लागि आह्वान गरे तापनि इजरायल सरकार मानिरहेको अवस्था छैन । प्यालेस्टाइनी आदिवासी हमासले सुरु गरेको आक्रमणमा केही सय जना ब्यक्तिको ज्यान गएको हो । तर अहिले त्यसको बदलामा पानी, बिजुली र खाद्यान्न आपूर्ति समेत बन्द गरी इजराइली सेनाले गाजापट्टि क्षेत्रमा गरिरहेको हमलाको कारण हजारौं प्यालेस्टाइनी जनताको ज्यान गएको मात्रै होइन त्यहाँको सभ्यता, संस्कृति समेत विनाश हुन पुगेको छ ।

दक्षिणपूर्वी एशियामा रहेको यो अरव क्षेत्र अरवियन र अन्य आदिवासी जनजातिको आदिभूमि थियो । यहाँ सुरुदेखि आफ्नो निश्चित भूमि किटान गर्नको लागि प्यालेस्टाइनी जनताले संघर्ष गरिरहेको छ । ७५ वर्ष भैसक्यो उनीहरुले आफ्नो निश्चित भूमि कायम गर्ने माग सहित युद्ध र संघर्षलाई निरन्तरता दिइरहेको । तर त्यसको सुनुवाई अमेरिकी नेतृत्वको हावी रहेको संयुक्त राष्ट्र संघले गरेनन् । बरु लेवनान, प्यालेस्टाइनलाई अलग्ग गरी त्यहाँ आपसमा बैमनष्यता कायम गर्ने कुनियतले राष्ट्र संघले इजरायल देशलाई मान्यता दिएर त्यहाँ विश्वभरका यहुदीहरुलाई खाने, बस्ने र जीवन यापन गर्ने विभिन्न खालका सुख सुविधाहरु दिएर अपारमेन्टको समेत बन्दोबस्त गरी बसोबास गर्न आउनको लागि आह्वान गर्यो । त्यसैले पनि पहिला सीमित यहुदीहरु मात्रै बासोबास गर्ने गरिएको त्यस क्षेत्रमा पछि उनीहरुको संख्या ह्वात्तै बढेर रैथाने जातिलाई बिस्थापित गर्दै गर्यो । त्यसैले पनि कहिल्यै नसुल्झने बिवादको रुपमा समस्या देखा परिदियो । त्यसलाई न राष्ट्र संघले समाधान गर्न सक्यो । न त गाजापट्टि क्षेत्रका प्यालेस्टाइनी जनता अथवा इजरायल देश घोषणा गर्ने त्यहाँको शासक वर्गले नै समाधान गर्न सक्यो । यो विश्वको टाउको दुखाईको विषय रह्यो ।

आज अमेरिका र बेलायती साम्राज्यवादी देशको उक्साहतमा परी इजरायली सेनाले प्यालेस्टाइनी जनताको नरसंहार गरिरहेको छ । इजरायली सेनाले सयौं हजारौं प्यालेस्टाइनी जनतालाई बन्धकमा राखी हात, खु्ट्टा र गर्धनमा समेत एउटै सिक्रिले बाँधेर नेल लगाएर युद्ध अपराधको रुपमा जिउभरी कालो हुने गरी टाटु लगाएको दाम सहित चर्को घाममा सेकाउने गरी सजायँ दिइराखेका छन् । आफ्नै स्वतन्त्र भूमिको लागि अदम्य उत्साह बोकेर युद्धरत यी रैथाने जातिलाई संयुक्त राष्ट्र संघले समर्थन गर्न सकेको छैन । न त उनीहरुको समर्थनमा भएको युद्ध बिरामको प्रस्ताबलाई नै वास्ता गरिरहेको छ । त्यसले गर्दा पनि यो द्धन्द्धः झन चर्किंदै गइरहेको छ । दुई हप्ता भित्र कमसे कम चार हजार इजरायलमा काम गरी बसेका गाजा क्षेत्रका जनतालाई हिरासतमा लिएका छन् । उनीहरु सबैलाई नांगै राखी हडकडी लगाएर टाउको र जिउमा टाटु कुंदेर कतै भागेर गए तापनि चिन्ने गरी भेडा च्यांग्रालाई जस्तै टाटु दामेर चर्को घाममा नांगै सुकाइराखेको दृष्यले इजरायली सेना प्रति संसारमा रहेका नागरिकको घृणा पैदा हुने गरेको छ । प्यालेस्टाइनमा इजरायली सेनाले गरिरहेको यस्ता बर्बरताको अन्त्य गर्न, प्यालेस्टाइनी शरणार्थीहरुलाई आफ्नो आदिभूमि प्यालेस्टाइनमा फर्काउन र उनीहरु माथि भएको क्षतिको क्षतिपूर्ति दिनु पर्ने माग सहित हिजो आज विश्वभर प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन भइरहेका छन् ।

नेपालमा नेपाल मजदुर किसान पार्टी लगायत विभिन्न संघ संस्थाले पनि प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गरिरहेका छन् । यो अन्तर्राष्ट्रिय मामलालाई लिएर न्यायको पक्षमा आवाज बुलन्द गर्नेहरुलाई समेत सरकार मुक दर्शक भएर हेरिबसेको छ । संसदमा पनि फासीवादी इजरायलको विरोधमा आवाज घन्किरहेको छ । प्यालेस्टाइनमा अमेरिकी साम्राज्यवाद र इजरायली सेनाको फासीवाद बिरोधमा संसारका न्यायप्रेमी जनताले आवाज बुलन्द गर्नु पर्ने बेला भएको छ । यो आफ्नो आदी भूमिका आदिवासी रैथाने जनतालाई सुरक्षित गर्ने अभियान सञ्चालन गरिरहेकाहरुलाई साथ दिनु भनेको हाम्रो जस्तो आदिवासी जनजातिको बाहुल्यता भएको देशमा आदिवासी हक अधिकारको लागि सारा जनताको अधिकारलाई साथ दिनु सरह नै हो । त्यसैले पनि हजारौं ब्यक्तिको ज्यान जाने गरी भएको युद्ध र आक्रमणको बिरोध गर्नुका साथै विश्व शान्तिको पक्षमा रहनु पर्ने संयुक्त राष्ट्र संघलाई नैतिक दवाव दिनु पनि आजको आवश्यकता देखिन्छ । हाल गाजापट्टि, पश्चिम किनार र जेलुसेलुममा रहेका सर्वसाधारण जनताको जीवन खतरामा रहेका छन् । उनीहरुको जीवन रक्षा गर्ने र सामान्य जीवन कायम गर्नको लागि पनि विश्वभर प्रदर्शनको आवश्यकता रहेको देखिन्छ ।

सन् १९४७ सम्म प्यालेस्टाइनमा करिव एकतिहाई जनसंख्या यहुदी थिए । त्यो बेला उनीहरुले ओगटेको भूमि भनेको ६ प्रतिशत मात्रै थियो । तर बेलायती उपनिवेश र राष्ट्र संघलाई अगाडि सारी अमेरिका र बेलायतले सन् १९४७ को नोभेम्बर १९ तारेखका दिन प्यालेस्टाइनमा यहुदी र अरव राष्ट्रको रुपमा विभाजन गरिदियो । त्यसपछि भने प्यालेस्टाइनको ५६.४७ प्रतिशत भूभागमा यहुदी राज्य इजरायल स्थापना भयो । फगत ४४.५३ प्रतिशत मात्रै प्यालेस्टाइनी जनताको लागि भनी छोडिदियो । ५६ प्रतिशत जति अरवहरु इजरायलमा बसिरहेको बखत भएको उक्त विभाजनलाई लिएर प्यालेस्टाइनले यो विभाजनलाई अस्वीकार गर्नु स्वाभाविकै थियो । युद्ध त्यहीं कारणबाट सुरु भएको हो । न्यायको पक्षमा लड्ने रैथानेहरुलाई सिध्याउने कार्य आज इजरायली सेनाले गरिरहेका छन् । राष्ट्र संघले इजरायललाई सन् १९४८ मा मान्यता दिएपछि इजरायल स्वतन्त्र राष्ट्र बन्यो । तर सम्पूणर् अरव राष्ट्रहरु प्यालेस्टाइनमा यहुदी राज्य स्थापना गर्ने बेलायती योजनाको विपक्षमा गयो । त्यसैले पनि सन् १९४७ मा इजरायल राज्य अलग्ग स्थापना गरेर प्यालेस्टाइनलाई विभाजन गरेको कुरामा हालसम्म पनि सम्पूणर् एशियाली मुलुकहरु समेत विरोधमा उत्रिरहेका हुन् ।

यस्तो अन्योन्याश्रित अवस्थालाई समाप्त गरी राष्ट्र संघबाट पहल गरी विश्वमा शान्ति कायम गर्नु पर्दछ भन्ने ध्यान राखेको खण्डमा अहिले पनि शान्तिपूणर् रुपमा आफ्नो भूमि भित्र आफू रहने प्यालेस्टाइनी जनताको लामो समय देखिको इच्छा पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!