डा राकेश प्रजापति
बरिष्ठ पशु चिकित्सक
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत
जाजरकोट, कार्तिक २२, २०८०ः
नेपालमा भूकम्पको जोखिम उच्च रहेको छ । २०७२ सालको भूकम्पको पिडा बिर्सन नपाउँदै २०८० कार्तिक १७ गते शुक्रबारको राति गएको भूकम्पले आज सिंगो देश शोकमय भएको छ । भूकम्पलाइ प्राकृतिक प्रकोपको रुपमा लिइएको छ ।यसले ठुलो जनधनको क्षति पुर्याउनुको साथै पशुपालन व्यवसायलाइ पनि नराम्ररोसंग प्रभावित पुर्याउँदछ ।
नेपाल कृषिप्रधान देश हो । नेपालको गाउँमा रहेका अधिकांश मा्निसहरु कृषि र पशुपालनक्षेत्रमा आबद्ध रहेका छन् । कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ कोरामीडाँडालाइ केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछि गएका पराकम्पहरुले जाजरकोट र पश्चिम रुकुमका अधिकांश पशुबस्तु र गोठखोरको क्षति भएको छ ।पशुपालक कृषकहरु मर्माहित भएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटले दिएको विवरण अनुसार मिति २०८०।७।२१ गते सम्ममा जाजरकोटमा भएको पशुवस्तुहरुको क्षति विवरण निम्न अनुसार रहेको छ ।
पशुपन्छीको विवरण मृत्यु भएका पशुहरुको परिमाण :
गाइ गोरु १० , बाख्रा भेडा १३८ , भैसी १५, कुखुरा ४५९
२०८०।७।२१ गते सम्ममा जाजरकोटमा पशुवस्तुहरुको ४३ वटा गोठ खोरहरु भत्किएको विवरण पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटले दिएको छ ।
त्यसैगरी पशु अस्पताल तथा पशु सेवा कार्यालय, पश्चिम रुकुमले दिएको विवरण अनुसार हालसम्ममा पश्चिम रुकुममा भएको पशुवस्तुहरुको क्षति विवरण निम्न अनुसार रहेको छ ।
पशुपन्छीको विवरण मृत्यु भएका पशुहरुको परिमाण:
गाइ गोरु १८, बाख्रा ७४, भेडा २, भैसी २६, कुखुरा ७४५, टर्की १०, हाँस १०
पशु अस्पताल तथा पशु सेवा कार्यालय, पश्चिम रुकुमले पशुवस्तुहरुको ४ वटा गोठ खोरहरु भत्किएको विवरण दिएको छ ।
भुकम्प पश्चात पशुवस्तुहरुको उद्धार एवं उपचारमा संघ, प्रदेश र स्थानीय तहका पशु सेवाका निकायहरु आपसी सहकार्य एवं समन्वय गरी जाजरकोट र पश्चिम रुकुममा सक्रिय भएका छन् । संघिय पशु सेवा निकायको रुपमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट डा राकेश प्रजापति, डा लक्ष्मी नारायण दाश. शम्सेर जी सी र देवि राम कँडेलको टोलि तत्काल भूकम्प प्रभावित क्षेत्रमा गइ उद्धार एवं उपचारमा सक्रिय भएको छ । त्यसैगरी प्रदेशको पशु सेवा निकायको रुपमा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जाजरकोटबाट ज्ञानु शर्माको टोलि जाजरकोटमा र पशु अस्पताल तथा पशु सेवा कार्यालय, पश्चिम रुकुमबाट शेर बहादुर खड्काको टोलि पश्चिम रुकुमका प्रभावित क्षेत्रमा परिचालित छन् । प्रभावित स्थानिय तहका पशु सेवा शाखाका पशु सेवा प्राविधिकहरु प्रभावित घरगोठमै पुगेर तथ्याङ्क संकलनको लागि परिचालित भएका छन् ।
यसरी राज्यका तिन वटै तहका पशु सेवा निकायहरुको सक्रिय सहकार्य एवं समन्वयमा पशुवस्तुको उपचार एवं उद्धारमा निम्न कार्यहरु भइरहेका छन् ।
मरेका पशुवस्तुहरुको उचित व्यवस्थापन
भुकम्पले भत्काइएका संरचनामा च्यापिएर मरेका पशुहरु यथास्थितिमा लामो समयसम्म रहँदा मृत पशुहरुको दुर्गन्धले वातावरण प्रदुषित हुने गर्दछ । कतिपय अवस्थामा मानिसहरुले मृत पशुहरुलाइ खोलामा फाल्ने गरेको पनि पाइएको छ । यसले गर्दा विभिन्न महामारी रोगहरु फैलिने सम्भावना उच्च रहेको छ । तसर्थ मरेका पशुवस्तुहरुको उचित व्यस्थापन अत्यन्त महत्वपुर्ण मानिन्छ । सामान्यतया कम्तिमा ३ फिट गहिरो खादल खनेर त्यसमा मृत पशुवस्तुलाइ पुर्ने एवं माथिबाट चुनहरु छर्केमा त्यसबाट महामारी रोगहरु फैलिन पाउँदैन । हाल भूकम्प प्रभावित क्षेत्रमा परिचालित पशु सेवाका निकायहरुले मरेका पशुवस्तुहरुको उचित व्यवस्थापन गर्ने एवं यस सम्वन्धी जनचेतना जगाउने कार्य गर्दै आएका छन् ।
घाइते पशुहरुको उपचार
मानविय उच्च संवेदनाको कारण घाइते मानिसको उपचार एवं उद्धारलाइ पहिलो प्राथमिकता दिनु अस्वभाविक होइन तर घाइते पशुहरुलाइ पुर्ण रुपमा वेवास्ता गर्नु पनि त्यति सान्दर्भिक हुँदैन । भूकम्प प्रभावित क्षेत्रमा घाइते पशुहरु तड्पिरहेका छन् तर त्यतातिर धेरैको ध्यान केन्द्रित भएको पाइएन । भूकम्प प्रभावित क्षेत्रमा परिचालित पशु सेवाका निकायहरुले ति अवोध विरामी पशुहरुको उपचार गर्दै आएका छन् । खासगरी भूकम्प प्रभावित क्षेत्रमा चोट पटक लागेका र हड्डी भाँचेका पशुहरु बढी पाइएका छन् । राज्यका तिनवटै तहका पशु सेवामा संलग्न निकायहरुले हालसम्म (२०८० कार्तिक २१ सम्म) भूकम्प प्रभावित क्षेत्रमा निम्न संख्यामा पशुवस्तुहरुको उपचार गरिसकेको छ ।
गोरु ६८, बाख्रा ४९२, भैसी १४, गाइ १८
तथ्याङ्क संकलन एवं प्रेषण:
विशेष गरी स्थानीय तह (गाउँपालिका र नगरपालिका) को पशु सेवा शाखामा कार्यरत पशु स्वास्थ्यकर्मीहरुले प्रभावित क्षेत्रको घर घरमा पुगेर घाइते एवं मृत पशुहरुको संख्या तथा गोठ खोरहरुको क्षति विवरण संकलन गर्दै छन् । नियमित रुपमा उनीहरुले संकलित तथ्य विवरणलाइ प्रदेशको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा प्रेषण गर्दछन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयहरुले स्थानीय तहहरुबाट संकलित विवरणहरुलाइ एकिकृत गरि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय एवं संघको पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाइ प्रेषण गर्दै आएको छ ।
यसरी संघ, प्रदेश र स्थानीय तहका पशु स्वास्थ्यकर्मीहरु एकिकृत रुपमा भुकम्प प्रभावित क्षेत्रमा पशुहरुको उपचार एवं उद्धारमा परिचालित भइरहेका छन् ।



