पोखरामा एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

पोखरा, कात्तिक २२ , २०८०ः

पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो ।

ठाकुर नयाँबजारस्थित बबी ठाकुर सैलुनका सञ्चालक समेत हुन् । ठाकुरले एटिएमको ढोका फोडेर मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई पैसा निकाल्ने प्रयास गरेको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो । ठाकुरलाई चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थपगरी अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!