भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढ छ : प्रधानमन्त्री
काठमाडौं, कात्तिक २३ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनु भएको छ । बिहीवार काठमाडौंमा आयोजित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको बताउनु भयो । उहाँले देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताउनु भयो । उहाँले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताउनु भयो ।
प्रधानमन्त्रीले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गर्नुभयो । उहाँले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ यस प्रकार छ :
कार्यक्रमका अध्यक्षज्यू,
प्रतिष्ठानका पदाधिकारीज्यूहरू,
अतिथि गण,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित महानुभावहरू ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्रतिमान चन्द बोहराको स्मृतिमा स्थापित यस प्रतिमान–नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव समारोहमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।
प्युठानवासी तथा प्रतिमान चन्द बोहोराको परिवारजनबाट बोहोरा र उहाँको धर्मपत्नीको स्मृतिमा स्थापित यस प्रतिष्ठानले आफ्नो स्थापनाको २० औं वार्षिकोत्वस मनाइरहँदा म यस संस्थालाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । प्रतिष्ठानले आगामी दिनमा राजनीतिक एवं सामाजिक क्षेत्रमा गुणात्मक योगदान गर्ने सफलता प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
गुल्मी जिल्लामा विसं १९६० सालमा जन्मनुभएका प्रतिमान चन्द बोहरा प्रजातन्त्रको उदयसँगै २००८ सालमा प्युठान गौडाको वडाहाकिमको रूपमा उच्च प्रशासनिक ओहोदा पुगी जिल्लाको विकासमा योगदान पु¥याउनुभएको थियो । प्रजातान्त्रिक आन्दोलन तथा समाज सेवामा अग्रणी व्यक्तित्वका रूपमा रहनुभएका प्रतिमान चन्द बोहरा शिक्षाप्रेमी समेत हुनुहुन्थ्यो, उहाँले प्युठान जिल्लामा औपचारिक शिक्षाको जग बसाल्ने कार्य गर्नुभएको कुरा सर्वविदितै छ ।
प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेका योद्धाहरूको नाममा उहाँले २००८ सालमा मुक्ति मिडिल स्कुल स्थापना गर्नुभयो जुन जिल्लाकै पहिलो विद्यालय हो । यसले प्युठान जिल्लाको शैक्षिक विकासमा गरेको योगदान वास्तवमै अतुलनीय छ । प्रतिमान चन्द बोहोराको शैक्षिक विकासको सपनालाई पक्रिएर यस प्रतिष्ठानले २०६५ सालमा भैरहवामा प्रतिमान नीमा मेमोरियल कलेज स्थापना गरेको र उक्त कलेजले प्राविधिक तथा व्यवसायिक जनशक्तिको उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।
साथै प्रतिष्ठानले रूपन्देही जिल्लाका विभिन्न स्कुलहरूमा हेल्थ क्याम्प, ल्याब परीक्षण जस्ता कार्यक्रमहरूसमेत गरिरहेको रहेछ । त्यस्ता राम्रा कार्यहरूको निरन्तरताको पनि अपेक्षा राखेको छु ।
सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न क्रियाशील छ । १० महिनाको अवधिमा अर्थतन्त्रको संकट अन्त्य गर्दै अर्थतन्त्रको दवाव अन्त्य गर्न मेहेनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन्, यद्यपि दवाव अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको छ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको छ ।
मेरो भारत, रोम, संयुक्त राष्ट्रसंघ र चीन भ्रमणले नेपालको बहुआयमिक हितमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । भर्खरै संयुक्त राष्ट्रसंघका महासचिव आन्तरियो गुटेरेसले गर्नुभएको नेपाल भ्रमण र व्यक्त गर्नुभएको विचारले सिंगो विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ । यसले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी कानुनहरूको तर्जुमा, जलवायु परिवर्तनले नेपालमा पारेको बहुआयमिक प्रभावलाई कमि गर्न, कार्बन उत्र्सजन नियन्त्रणवापत नेपालले प्राप्त गर्नुपर्ने रोयल्टी, जलवायु परिवर्तनका क्षेत्रमा नेपाल ‘लिडर कन्ट्री’का रूपमा प्रस्तुत हुने आधारहरू प्रस्तुत गरेको छ । यो हाम्रा लागि महत्वपूर्ण उपलब्धी हो । तसर्थ, सिंगो देशले यसको स्वामित्व लिन सक्नुपर्दछ ।
भर्खरै कार्तिक १७ गते जाजरकोट र रूकुम पश्चिम लगायत कर्णाली प्रदेशलाई प्रभावित गर्नेगरि गएको विनासकारी भूकम्पका कारण सिंगो देश नै शोकमग्न छ । भूकम्पपछि उद्दार र राहतमा सरकारले जुन पहलकदमी लिएको छ, त्यसले पुनस्र्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको छ । २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थित रूपमा पुनस्र्थापनाको काम अगाडि बढाउने तयारी सरकारले गरिरहेको छ । तसर्थ, सरकारको यस नीति, योजना र कार्यक्रममा सिंगो मुलुक केन्द्रित हुने मैले विश्वास लिएको छु ।
अन्त्यमा, समाज सेवालाई कार्यक्षेत्र बनाएर निरन्तर क्रियाशील यस प्रतिष्ठानले भविष्यमा थप गुणात्मक काम गर्ने विश्वासका साथ यहाँहरूको २० औं वार्षिकोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।