हेटौँडा, कात्तिक २३ गते ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार एकसय पाँच जना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो ।
आँखा परीक्षणका क्रममा ५० प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु सुगरले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको हेटौँडा सामुदायिक आँखा अस्पतालका नेत्र सहायक धर्मराज यादवले जानकारी दिनुभयो । उहाँले शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधि समेत वितरण गरिएको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् कार्यालय प्रमुख वसन्त आचार्यले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाका लागि आँखा परीक्षण गरिएको बताउनुभयो । ‘‘सवारी दुर्घटना न्यूनीकरण र जनचेतना जगाउने उद्देश्यले हामीले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेका हौँ,’’ उहाँले भन्नुभयो । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।