कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निजी डेरी उद्योगको निर्णय

उत्पादन अनुसार बजार नपाएपछि मूल्य घटाउने निर्णय

विराटनगर, कात्तिक २५ गते।

कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्।डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।

कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्।डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उपभोक्ता मूल्य घटाउने निर्णय गरेका हुन्।

दूधको मूल्य घटेसँगै दूधबाट बनेको वस्तुको मूल्य पनि घट्ने भएकोले संघले विभिन्न वस्तुको मूल्य घटाएर निर्धारण गरेको छ। कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आवद्ध संघको बैठक बसेको थियो।उक्त बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाउने निर्णय गरेको थियो।घटेको नयाँ मूल्य कात्तिक २६ गते आइतबारबाट लागु गर्ने संघले जनाएको छ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको पाउच ४५ रुपियाँमा पाउनेछन्।लो फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपियाँमा पाउने भएका छन्।

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूध मध्ये एक लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो।तर, अहिले औपचारिक क्षेत्रमा झण्डै दुई लाख ५० हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन्।कोशी प्रदेशमा दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर दुई रुपियाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!