काठमाडौं, मङ्सिर १ गते ।
नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मङ्सिर १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामाले जानकारी दिनुभयो ।
दुई दिन हुने उक्त च्याम्पियनसिपमा आयोजक नेपालसहित बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धी गर्नेछन् । प्रतिबन्धमा रहेकाले श्रीलङ्काको भने एनओसी टिम सहभागी गराउन लागेको महासङ्घले जनाएको छ ।
च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कूल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासङ्घका महासचिव दावा गुरुङले जानकारी दिनुभयो । क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । जसमा तीन सय ५३ खेलाडीको सहभागिता रहने छ । सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको पनि महासङ्घले जनाएको छ । कुमुते टोली गोकर्णेश्वरस्थित शंखडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन् ।
अध्यक्ष लामाले नेपालले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउनुभयो । उहाँले प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।