दाङ, १ मङ्सिर ।
सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ ।
मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव सेवा गरिरहेको भए पनि सडकमा अलपत्र नागरिकलाई उद्वार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको मन्त्री शर्माको धारणा थियो । कुनै पनि नागरिक सडकमा अलपत्र नहोस भनेर सरकार लागिरहेको उल्लेख गर्दै उहाँले जनस्तरबाट संचालित सस्थाहरुबाट मानवीय सेवा कार्यक्रम सन्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताउनुभयो ।
मानव सेवाको पक्षमा सन्चालित अभियानहरुमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । पछिल्लो समय जन्मदिन, विवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्दै उहाँले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताउनुभयो ।
मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको उल्लेख गर्दै उहाँले हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवाघरको सेवाको बारेमा समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलले जानकारी गराउनुभएको थियो ।