काठमाडौँ, मङ्सिर ३ गते ।
अस्ट्रेलियाले घरेलु टिम भारतलाई हराउदै विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । यो जित संगै अस्ट्रेलिया छौठौ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।
यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्याम्पियन बनेको थियो । भारत सन् २०११ मा आफ्नो घरमा विश्वकप हुँदा च्याम्पियन बनेको थियो । विश्वकप क्रिकेट फाइनल हेर्न कीर्तिमान दर्शकबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसको पनि उपस्थिति रहेको थियो ।
अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गरेको भारतलाई २४० रनमा अलआउट गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान ट्भिस हेडले १३७ रनको शतकीय पालि खेलेपछि अस्ट्रेलियाले सात ओभर बाँकी छँदै चार विकेटको क्षतिमा २४१ रन बनाएर लक्ष्य हासिल गर्न सफल भयो । मार्नस लाबुस्चेले पनि अविजित ५८ रन बनाएर अस्ट्रेलियालाई विश्व विजेता बनाउन महत्वपूर्णं भूमिका खेल्नुभयो । हेड र लाबुस्चेबीच चौथो विकेटका लागि १९२ रनको साझेदारी बनेको थियो ।
यसअघि, लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सात ओभरमा ४७ रन बन्दा तीन विकेट गुमाएपछि भारत खेलमा फर्किने सम्भावना देखिएको थियो । पछिल्लो विश्वकपको फाइनलमा पनि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २४१ रन बनाएको थियो । इङगल्यान्डले जवाफमा २४१ रन नै बनायो । त्यसपछि इङ्गल्यान्ड सुपर ओभरमा खेल जितेर च्याम्पियन बनेको थियो । तर कमजोर बलिङका कारण भारतले पछिल्लो फाइनलको रोमाञ्च दोहर्याउन सकेन । भारत यस प्रतियोगितामा लगातार दस खेल जितेर फाइनलमा पुगेको थियो । त्यसैले भारतलाई उपाधिको प्रमुख दावेदार मानिएको थियो । तर भारतले तेस्रो पटक विश्वकप उपाधि जित्न सकेन ।
यसअघि अनुशासित बलिङको सामना भारतले उचित तरिकाले गर्न सकेन । भारतका कप्तान रोहित शर्माले ४७ रनको तेज पालि खेलेर घरेलु टिमलाई तेज सुरुआत दिलाउनुभएको थियो । उहाँले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गर्दे ४७ रन बनाउनुभयो । अर्का प्रारम्भिक ब्याट्सम्यान शुभमन गिल भने चार रनमै आउट हुनुभएको थियो । रोहित आउट भएपछि भारतको ब्याटिङले सङ्घर्ष गरेको थियो । सुस्त पिचमा टस हारेपछि पहिले ब्याटिङ गर्न बाध्य भारतले ११ औँ ओभरमा ८१ रन बन्दा तीन विकेट गुमाएको थियो । भारतले अन्तिम पाँच विकेट पनि ८।३ ओभरमा मात्र ३७ रनमा गुमायो ।
विराट कोहली र लोकेश राहुलले अर्धशतकीय पालि खेलेर भारतलाई सम्माजनक स्कोरसम्म पुगाउनुभएको हो । कोहलीले (५४) यस विश्वकपमा अर्को अर्धशतकीय पालि खेल्नुभयो । भारतका लागि सर्वाधिक रन लोकेश राहुलले बनाउनुभयो । उहाँको ब्याट्बाट ६६ रन आएको थियो ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले यस प्रतियोगितामा सर्वाधिक रन बनाउने कोहलीका साथै र लयमा रहेका श्रेयर एयरलाई आउट गर्नुभयो । अर्का तेज बलर मिचेल स्टार्कले तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । तेज बलर जोस हेजलउडले पनि पुछारका दुई ब्याट्सम्यानलाई पवेलियन फर्काएर भारतको पालि समाप्त गर्नुभयो ।
कोहली ११ खेलमा ७६५ रन बनाएर एक विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नुभयो । उहाँले सचित तेन्दुलकरको कीर्तिमान भङ्ग गर्नुभएको हो । तेन्दुलकरले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ११ खेलमै ६७३ रन बनाउनुभएको थियो ।