माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोक्नुपर्ने

काठमांडौ, मंसिर ३, २०८०ः

रास्ट्रिय युवा संघ र दुर्गा प्रसाईं पक्ष आमनेसामने हुँदा सिर्जना हुनसक्ने सम्भावित परिस्थितिबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको बैठक गृहसचिव दिनेश भट्टराईले बोलाएका हुन् ।

स्रोतका अनुसार, झण्डै तीन घन्टासम्म चलेको बैठकमा सीडीओ र सुरक्षा अधिकारीहरुले माइतीघर मण्डललाई निषेधित क्षेत्र तोक्नुपर्ने राय दिएका थिए । उग्र भिड माइतीघर मण्डल पुगेर तनावको स्थिति सिर्जना भए परिस्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोक्न उनीहरुले सुझाव दिएका हुन् ।

‘कार्यक्रम त माइतीघरमा दुवै पक्षलाई गर्न दिनै हुँदैन भन्नेमा सबैको एकमत रह्यो’, छलफलमा सहभागी एक अधिकारीले भने, ‘माइतीघर मण्डललाई समेत निश्चित दिन तोकेर निषेधित क्षेत्र घोषणा गर्नुपर्ने मत बलियो गरी उठेको छ ।’

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको थियो । तर सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि प्रदर्शनहरु माइतीघर मण्डल केन्द्रित हुँदै आएका छन् । तर, यसपटक सुरक्षा चुनौतीको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि निषेधित क्षेत्र तोक्न सकिने अधिकारीहरुले बताएका छन् ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!