धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, मङ्सिर ९ गते।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय सङ्कट आठ अर्ब मानिसको साझा चुनौती पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले अहिले एकथरी मानिस जातीय रूपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवादी र त्यसबाट कतै न कतै असहिष्णुता, सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताउनुभएको हो। उहाँले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने मार्क्सवादी भएको र आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘अहिले एकथरी मानिसहरू जातीय रूपले पनि साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवादी र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव पनि खलबल पार्ने प्रयासमा लागेको देखिन्छ। आखिरमा राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने भनेको मार्क्सवादीले नै हो। आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गर्नुपर्छ।’’

प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा नेपाल योद्धाको रूपमा प्रस्तुत हुने बताउनुभयो। उहाँले ठुला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना र जनसङ्ख्याको हिसाबले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको बताउनुभयो। उहाँले गरिब देशमध्ये पनि बालबालिका, महिला र अशक्तलाई यसको सबैभन्दा बढी जोखिम भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘ठुला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना र जनसङ्ख्याको हिसाबले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको छ। गरिब देशमध्ये पनि बालबालिका, महिला र अशक्तलाई यसको सबैभन्दा बढी जोखिम भएको छ। कोपमा हामी अधिकारका लागि लड्ने हिसाबले प्रस्तुत हुनेछौँ। हामीले नगरेको कामको दण्ड भोग्नुपर्ने बाध्यता किन आइलागेको छ। यो पटक कोप–२८ मा हामी योद्धाको रूपमा प्रस्तुत हुने हो, माग्नेको रूपमा प्रस्तुत हुने होइन। त्यो हाम्रो अधिकार हो। यसै पनि हामीले कम विकसित मुलुकको अध्यक्ष भएको नाताले ४७ देशको प्रतिनिधित्व पनि गर्नुछ। हाम्रो अधिकार स्थापित गर्ने सङ्घर्षको रूपमा हामी प्रस्तुत हुनेछौँ।’

प्रधानमन्त्री दाहालले आफ्नो अधिकार स्थापित गर्ने सङ्घर्षको रूपमा कोप २८ मा प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!