भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योटः जग्गा विवाद, घरबहाल र लेनदेनसम्बन्धी मुद्दा धेरै

भरतपुर, मङ्सिर १२, २०८०ः

भरतपुर महानगरपालिकाको न्यायिक समितिले सोह्र महिनामा ४७ मुद्दा फर्छ्योट गरेको छ। आर्थिक वर्ष २०७९ /८० मा ४१ र चालु आवको हालसम्म छ वटा मुद्दा फर्छ्योट गरेको हो। फर्छ्योट गरिएकामध्ये कतिपय मिलापत्र गरेर टुङ्गिएका छन् भने केही मुद्दा अदालत पुगेका छन्।

यस अघि आव २०७८/७९ बाट जिम्मेवारी सरी आएका मुद्दासहित गत आवमा ५५ वटा मुद्दा दर्ता भएका थिए। यस आवमा अघिल्लो आवबाट १४ वटा मुद्दा सरी आएका थिए। महानगरपालिका सहायक निरीक्षक कृष्ण सापकोटाका अनुसार गत आव चितवन अदालतमा चार वटा मुद्दा पठाइएको थियो। अदालत गएका मध्ये घरबहालसम्बन्धी एक र बाटो र जग्गासम्बन्धी तीन मुद्दा छन्। न्यायिक समितिले जिउनी हकसम्बन्धी एक मुद्दा पुनरावेदन गएको जनाएको छ।

यस्तै चालु आवको चार महिनामा १५ वटा मुद्दा दर्ता भएको सापकोटाले बताउनुभयो। उहाँले जग्गा विवाद, घरबहाल र लेनदेनसम्बन्धी मुद्दा धेरै आउने गरेको जानकारी दिनुभयो। महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) र (२) बमोजिम मुद्दा दर्ता गर्दै आएको छ। ऐनबमोजिम आवश्यक कागजात हेरेर मुद्दा दर्ता गर्ने गरिएको सापकोटाले बताउनुभयो।

महानगरपालिकाको न्यायिक समितिको पहिलो प्राथमिकता मिलापत्र हुने भन्दै सबै वडामा मेलमिलाप समितिले ठाडो उजुरीमा काम गरिरहेको उहाँले बताउनुभयो। महानगरपालिकाले सेवाग्राहीलाई रु एक सयमा न्यायिक सेवा लिन सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!