कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

काठमाडौँ, मङ्सिर १३, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारीको उपस्थिति थियो । विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

कोप–२८ मा नेपालको सहभागितासँगै अतिकम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ ।

जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अतिकम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्नेछ।

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले शुक्रबार सो सत्रलाई सम्बोधन गर्नुहुने जनाइएको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटि अवार्ड समारोहमा सहभागी हुनुहुने छ। त्यस्तै, शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दि माउन्टेनः हु सेभ अस फ्रम दि क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुने भ्रमण तालिकामा उल्लेख छ ।

सम्मेलनको साइडलाइन बैठकका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, यूएईमा रहनु हुँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्नुहुने कार्यसूची छ । त्यहाँ आयोजना हुने नेपाल–युएइ व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने छ ।

नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्चाधिकारी सहभागी हुनुहुन्छ । नेपाली टोली शनिबार स्वदेश फर्किने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!