भक्तपुर, मंसिर १३, २०८०ः
नेपालमै पहिलो पटक निजी क्षेत्रबाट भक्तपुरमा घरपालुवा जनावरहरुको उपचार गर्ने तालिम केन्द्र सञ्चालनमा ल्याइएको छ । भक्तपुरको सूर्यविनायक गपलीमा क्लिनिकल स्किल लर्निग सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरको बुधबार एक कार्यक्रम गरी उदघाटन गरियो ।

सेन्टरका सञ्चालक डा प्रवणराज जोशीका अनुसार तालिम केन्द्रमा आवश्यकता अनुसार एकदिनेदेखि दुईहप्तेसम्म तालिम दिइने बताए । सैद्धान्तिक नभई प्रयोगात्मक तालिम दिइने उनले सुनाए । आवश्यकता अनुसार सैद्धान्तिक अध्ययन पूरा गरेको भेटेरीनरी डाक्टर लगायतलाई व्यवहारिक तालिम दिने उनले बताए ।
नेपाल भेटेरिनरी काउन्सिलका रजिष्टार डा मनोजकुमार शाहीले तालिम केन्द्रको उदघाटन गरेका थिए । कार्यक्रमको सञ्चालन सुरेश कवांले गरेका थिए । कार्यक्रममा हिलामलय कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी हिकास्टका प्रिन्सिपल प्रा डा श्रीरामप्रसाद न्यौपाने, पकलिवा भेटेरिनरी कलेजका सहप्राध्यापक गंगाप्रसाद यादव, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ बागमति जिल्ला शाखाका कोषाध्यक्ष नारायणप्रसाद अधिकारी, महानगर इन्टरनेशनलका प्रोपाइटर सुरेश कार्की लगायतले तालिम केन्द्रको सफलताको कामना गरेका थिए । कार्यक्रममा तालिम केन्द्रमा तालिम लिए्का पहिलो व्याचका विद्यार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।