काठमाडौँ, मंसिर, १३, २०८० :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा स्वर्णिम वाग्लेलाई पार्टी उपसभापति बनाउनुका साथै ६ जना पदाधिकारी पनि थपेको छ। रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले एकजना उपाध्यक्ष, दुईजना सह-महामन्त्री र तीनजना सह-प्रवक्ता गरी ६ जना पदाधिकारी थपिएका छन्। रास्वपा उपाध्यक्षमा डा. वाग्ले, सह-महामन्त्रीमा विपिन आचार्य र सुमन श्रेष्ठ, सह-प्रवक्तामा मनीष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका छन्।
यसअघि रास्वपाका पदाधिकारीमा डोलप्रसाद अर्याल उपाध्यक्ष, कविन्द्र बुर्लाकोटी सह-महामन्त्री र बसुमाया तामाङ कोषाध्यक्षमा रहेका थिए। थपिएका ६ जनासहित पदाधिकारीको संख्या सभापतिसमेत गरेर ११ जना पुगेको छ।
संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाइएको छ। अनिलकेशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाइएको छ।