काठमाडौँ, २० मंसिर ।
नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) २५ वर्ष पुरा भएको छ। सोहि अवसरमा ‘नेप्सेम्याक सन्देश–५’ सार्वजनिक गरिएको छ ।
आज नेप्सेम्याक ग्रुपको कर्मचारी भेला तथा प्रशिक्षण कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो। बागमती प्रदेशका सांसद प्रेमभक्त महर्जन तथा केशव पोखरेलको विशेष आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचनका साथ साथै कार्यक्रममा आफ्ना कर्मचारीरुलाई सवारी साधन चलाउँदा अपनाउनुपर्ने ट्राफिक नियमहरुको बारेमा तालिम समेत दिइएको छ । प्रहरी निरिक्षक शेखर जंग मल्लले उक्त तालिमको सहजिकरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै सांसद महर्जनले नेप्सेम्याकले वातावरण प्रदुषण न्युनिकरण, सरसफाईका साथ साथै रोजगारीको समेत व्यवस्थापन गरेकोमा विशेष धन्यवाद प्रकट गर्नुभयो । यस्ता प्रकारका सेवामुलक कार्यहरुलाई अझ बढि व्यापक विस्तार गर्नु जरुरी रहेको औंल्याउँदै उहाँले भन्नुभयो, ‘देशबाट युवा विदेश पलायन डरलाग्दो तरिकाले बढिरहेको छ । त्यसलाई रोक्न नेप्सेम्याक जस्तै अन्य विभिन्न प्रकारका उद्योग तथा कलकारखाना खोल्न अपरिहार्य बनेको छ । रोजगारीको वातावरण सिर्जना गरि युवा विदेश पलायन रोक्नुपर्छ । त्यस्तै फोहोरको नाममा हुने अनेकन समस्याहरुको समाधान गर्न नेतृत्वले इच्छाशक्ति देखाउनुपर्छ । प्रत्येक निर्वाचन क्षेत्रमा कम्पोष्ट मल उत्पादन केन्द्रको स्थापना गर्ने बागमती प्रदेश सरकारको योजना रहेको छ । जसमा थ्री पीको माध्यमबाट अगाडी बढ्नुपर्छ । भौतिक पुर्वाधारको विकास गर्दै नेप्सेम्याकले अबका दिनमा ग्रीगरी बनाउने अभियान समेत चलाउनुपर्छ ।’
नेप्सेम्याकका सञ्चालक मित्रप्रसाद घिमिरेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष टीकाराम दाहालले संस्थाको काम, कर्तव्य, अधिकार र जिम्मेवारीको बारेमा विस्तृतमा उल्लेख गर्नु्भयो । संस्थाका विगतमा भए गरेका कार्यहरुको संक्षेपमा जानकारी गराउँदै उहाँले फोहोरमैला व्यवस्थापन ऐन प्रभावकारी नभएकाले ऐनलाई समयसापेक्ष रुपमा परिवर्तन गरी काम गर्न सहज बनाइदिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । संस्थाले स्थानीय तहक तथा जनतासँग नै मिलेर काम गरिरहेको उल्लेख गर्दै उहाँले हालसम्म संस्थामा दुई अर्वभन्दा बढि लगानी रहेको समेत जानकारी गराउनुभयो ।