राष्ट्रियसभा निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार निषेध

काठमाडौँ , माघ ८, २०८०ः

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ ।

प्रचारप्रसार कार्य गर्न रोक लगाइएको अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो अवधिमा कुनै पनि विधि, प्रक्रिया र माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने भएकाले सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गर्नुभएको छ ।

राष्ट्रियसभाका १९ सदस्यको पद आगामी फागुन २१ गतेदेखि सकिँदै छ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गरिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!