चाँगुनारायण नगरपालिकालाई स्वच्छ हावा पाइने नगरपालिका बनाउने अभियान सुरु

भक्तपुर, माघ २४, २०७९ः

भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वच्छ हावा पाइने नगरपालिका बनाउने अभियान सुरु भएको छ ।

युएसएड, एफएचआइ ३६०, एआइटी, एन्फो लगायतको सहयोगमा नगरपालिकालाई स्वच्छ हावाको गन्तव्य पालिका बनाउने अभियान सुरु भएको हो ।

सो अभियान अन्तर्गत अहिले वायु गुणस्तर व्यवस्थापनका लागि आवश्यक नीति निर्माण गर्ने प्रक्रिया थालनी गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख जीवन खत्रीले मानव तथा जीवित प्राणीका लागि आवश्यक स्वच्छ हावा नै स्वस्थ जीवन र वातावरणका लागि जरुरी रहेकोमा जोड दिँदै विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा नगरपालिकामा स्वच्छ हावा परियोजना सञ्चालन गरिएको बताए ।

उनले नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखी वातावरण संरक्षणका साथै स्वास्थ्यलाई समेत प्राथमिकतामा राखेको बताए । उनले भक्तपुरका चारवटा नगरपालिकामध्ये चाँगुनारायणमा बसाइँ सरी आउनेहरुको संख्या बढिरहेको उल्लेख गर्दै नगरपालिकालाई वातावरणीय रुपमा समेत सबल बनाउन विभिन्न संघसंस्थासँग सहकार्य गरिएको जनाए ।

आज सम्पन्न नगरपालिकाका शिक्षा क्षेत्रका सरोकारवालाहरुसँगको गोलमेच छलफलका क्रममा नगर प्रमुख खत्रीले भने, ‘अहिले सबैतिर विभिन्न खाले प्रदूषण बढिरहेको छ, त्यसले सबैतिर उत्तिक्कै असर गरिरहेको छ, त्यसलाई कम गर्नु हामी सबैको दायित्व हो । त्यो दायित्व पूरा गरी हामी चाँगुनारायण नगरपालिकालाई सफा र स्वच्छ नगरपालिका बनाउन चाहन्छौं, त्यो साझा दायित्व हामी सबैले पूरा गर्यौं भने नगरमा बस्नेहरुको स्वास्थ्यमा सुधार आउँछ र स्वच्छ हावाका लागि चाँगुनारायण जाउँ भन्ने हुन्छ ।’

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी, शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले हावा स्वच्छ भए मात्र पठनपाठनमा सुधार आउने बताए । उनले हावालाई स्वच्छ बनाउन विद्यालय तहबाटै काम गर्न जरुरी रहेकोमा जोड दिए ।

सो क्रममा एन्फोका शिक्षा सल्लाहकार शुभेन्द्रमान श्रेष्ठले वायु गुणस्तर व्यवस्थापनमा शिक्षा क्षेत्रको संलग्नता जरुरी रहेको बताउँदै वायु गुणस्तरका लागि पाठ्यक्रममा विषयवस्तु समावेश भए पनि त्यसलाई सरकारी तवरबाट कार्यान्वयनमा उदासिनता देखाएको जनाए । उनले वायु गुणस्तरबारे शिक्षकहरुले नै पठनपाठन गरी व्यवहारमा लागू गराउन उत्साहित गर्न समेत सुझाव दिए ।
शिक्षा सल्लाहकार श्रेष्ठले प्रदूषण र सिकाइको स्तरबीच घनिष्ठ सम्बन्ध रहेको तथ्यले प्रमाणित गरेको जनाउँदै प्रदूषणका विषयमा व्यवहारपरक तरिकाले अध्यापन गर्न सकेमात्र शिक्षा दिगो र प्रभावकारी हुनेमा जोड दिए ।

छलफलमा वायु गुणस्तरबो चाँगुनारायण नगरपालिकाको शिक्षा क्षेत्रको क्षमता, कमजोरी, अवसर तथा चुनौतिहरुबीच शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुबीच सामूहिक छलफल भएको थियो । छलफलपछि शिक्षकहरुले सो बारेमा प्रस्तुति दिँदै बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि नगरपालिकाले ठोस योजना ल्याउन तथा राजनीतिक दलहरुबाटै प्रतिवद्धताको खाँचो औंल्याएका थिए ।

छलफलमा एन्फोका संगिता दण्डेख्याले विश्वका १ सय प्रदूषित सहरमध्ये काठमाडौं ९१ र सिद्दार्थनगर ६१ स्थानमा रहेको जनाउँदै वातावरण प्रदूषण हुनुका कारणबारे छलफल गरी समाधानका उपाय खोज्नुपर्नेमा जोड दिइन् ।

नगरको वायु स्वच्छ बनाउनका लागि रहेका विद्यमान चुनौतिहरु पार गर्नका लागि छलफल जारी गरिएको वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले बताए । उनले सो विषयमा निरन्तर रुपमा विविध कार्यक्रमहरु सञ्चालनमा रहेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!