सुनिल उलक
२०१३ बैशाख १४ गते बिहिवारका दिन तत्कालिन राजा महेन्द्रबाट नेपाल राष्ट्र बैंकको समुद्घाटन भएको थियो । साथै सोही दिन देखि नेपाल राष्ट्र बैंकको कामकारवाही पनि शुरु गर्नु पर्ने हुँदा नयाँ गवर्नरका रुपमा हिमालय शम्शेर राणाको नियुक्ति भएको थियो । साथै नेपाल राष्ट्र बैंक सञ्चालनका लागि आबश्यक सञ्चालक समिति पनि गठन गरेको थियो । गवर्नर राणा नै अध्यक्ष रहने गरि गठित समितिका अन्य सदस्यहरुमा सचिव नरप्रताप थापा, सहसचिवमा हिरण्यध्वज जोशी, र सदस्यहरु गया प्रसाद शाही तथा कृष्णबहादुर थापा नियुक्त भएका थिए ।

नेपाल राष्ट्र बैंकको स्थापना पछि प्रमुख काममा भारतीय रुपैयाको सटही दर कायम गर्ने र सटहीका लागि आबश्यक ब्यबस्था मिलाउने काम नेपाल राष्ट्र बैंकले नै गर्न थाल्यो । यस अगाडि बि.सं. १९९६ मा नेपाल बैंकको स्थापना भए पछि पहिलो पटक भारतीय रुपैयाको सटही दर भारु १०० बराबर मोरु १५४ कायम भएको थियो । २००१ मा भने एक्कासी घटेर केवल ८३ रुपैया कायम भएको थियो । यसैगरि २००६ मा १०४, २००८ मा १३१, २०१० मा १६७ हुँदै २०११ मा सबैभन्दा बढि १७९ मोरु कायम हुन पुग्यो । २०१२ मा १५१ मा झरेको भारतीय सटही दर नेपाल राष्ट्र बैंकको स्थापना पछि २०१४ सालमा १३५ कायम भएको थियो । २०१५ सालमा नेपाल राष्ट्र बैंकले १६० मोरु कायम गरेको यो दर भने २०१६ सालमा नेपाल राष्ट्र बैंकले नेपाली रुपैया छाप्न थालेपछि भने १६४ कायम हुन पुग्यो ।
नेपाल राष्ट्र बैंकले पहिलो पटक २०१६ साल फागुन ७ गते गवर्नर हिमालय शम्शेरको हस्ताक्षर भएको नयाँ कागजी नोटहरु रु १, रु ५, रु १० र रु १०० निष्काशन गरेको थियो । यस अगाडि सदर मुलुकी खानाका खजाञ्चीका हस्ताक्षर भएका कागजी नोट निष्काशन हुँदै आएकोमा अबबाट भने नेपाल राष्ट्र बैकका गवर्नरका हस्ताक्षर भएको कागजी नोट निष्काशन हुने भयो ।
यसरी नेपालमा पहिलो पटक स्थापित सरकारी बैंक नेपाल राष्ट्र बैंकका पहिलो गवर्नर बन्नुहुने हिमालय शम्शेर देशकै पहिलो अर्थशास्त्री पनि हुनुहुन्थ्यो । बम्बे विश्व बिद्यालयबाट माष्टर्स गरेर आउनु भए पछि नेपालमा प्रजातन्त्र पछि बनेको अर्थ मन्त्रालयमा भर्ना भएका थिए । त्यस बेला नेपालमा केवल चार जना मात्रै अर्थशास्त्र पढेका थिए । यस मध्यमा हिमालय शम्शेर अर्थ सचिव हुने पहिलो अर्थशास्त्री बने । पाँच वर्ष अर्थ सचिवका रुपमा सेवा गरेका स्वर्गीय राणालाई नेपाल राष्ट्र बैंक गठन हुनु पूर्व देशको एक मात्र बैंक नेपाल बैंकको पनि प्रमुख भएर पाँच वर्षको अनुभव संगाल्नु भएको थियो । देशको लागि सरकारी बैंकको स्थापना हुने भए पछि नेपाल राष्ट्र बैंकको पहिलो गवर्नरका रुपमा चयन गर्ने निर्णय गरिएको थियो ।
भारतीय रुपैयाको चलन चल्ती रहेको नेपालका कतिपय बजारबाट भारतीय रुपैया बिस्थापन गर्न तत्कालिन गवर्नर स्वर्गीय राणाको ठूलो भूमिका रहेको थियो । साथै नेपाली कागजी नोट भारतको नासिकमा कम गुणस्तरको छापिएकोमा गवर्नर राणाले बेलायतमा उच्च गुणस्तरको छाप्ने ब्यबस्था मिलाएका थिए ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित बिपीको सरकारलाई भंग गराइ दलहरु माथि प्रतिबन्ध लगाए । नेपाल राष्ट्र बैंकका गवर्नरका रुपमा रहेका राणा माघ २६ सम्म गवर्नर पदमा कायम रहे । राजा महेन्द्रले राजाको यस कदमको बिरोध गर्नेहरुमा पनि कठोर कदम चाल्न थालेका थिए । जसले गर्दा राजाको निर्णयको बिरोध गर्ने हिमालय शम्शेर पनि कारवाहीमा परे । उनलाई गवर्नर पदबाट हटाइयो ।
गवर्नरको पदबाट हटाइए पछि वहाँ संयुक्त राष्ट्र संघ अन्तर्गत संयुक्त राष्ट्र बिकास कार्यक्रमको अधिकृतका रुपमा बिभिन्न देशमा आवासिय प्रतिनिधीका रुपमा कार्यरत रहन पुग्नु भयो । करिव २५ वर्ष यूएनडिपीमा कार्यरत रहि अवकाश प्राप्त भए पछि नेपालमा फर्केर वहाँले गोर्खा ब्रुअरीको स्थापना गर्नुभयो । गोर्खा ब्रुअरीको स्थापना गरि विश्व प्रख्यात ट्युबोर्ग र कार्ल्सवर्ग बियरको नेपालमा उत्पादन गराइ आम नेपालीलाई सहज र सस्तोमा बियर पिउन पाउने बनाए ।
४६-४७ को आन्दोलनको सफलता पछि नेपालमा राजनैतिक परिवर्तन भयो । यसका साथै नीजि क्षेत्रका लागि खुला अर्थनीतिको पनि शुभारम्भ भयो । यसरी आर्थिक उदारीकरणको शुरुवातसंगै देशमा धेरै क्षेत्रमा नीजि क्षेत्रको पनि सक्रियता बढ्यो । नीजि जहाज कम्पनीहरु खुले । उद्योगहरुमा नीजि लगानी बढ्न थाल्यो । यस्तै सरकारले नीजि बैंक खोल्ने इजाजत पनि खुला गरे पछि सन् १९९३ मा हिमालय शम्शेरले पाकिस्तानको हबिब बैंकसंगको संयुक्त लगानीमा नेपालमा हिमालयन बैंकको स्थापना गरे । साथै यस बैंकको अध्यक्षका रुपमा पनि बैंकिङ बिकासका लागि दत्तचित्त भइ लागिरहे ।
बि.सं १९८४ सालको स्वस्थानी ब्रतारम्भका दिन माघ शुक्ल पूर्णिमामा जन्म भएका स्वर्गीय राणाको संयोगवश ९५ वर्षको उमेरमा बि.सं. २०७९ सालको स्वस्थानी ब्रत समाप्तीका दिन फागुन शुक्ल पूर्णिमामा देहावसान भयो । दुइ छोरा अशोक र अमर तथा दुइ छोरी प्रतिमा तथा संगीताका बुबा हिमालय शम्शेर श्री ३ देव शम्शेरका पनाति हुनुहुन्थ्यो । देव शम्शेरको जेठो छोरा जङ्गशम्शेरको माहिलो छोरा लक्ष्मण शम्शेरका पाँच छोरामा जेठो हुनुहुन्थ्यो । वहाँको विवाह बर्दियाका ठूला जमिन्दार बाबु साहेव खड्ग बहादुर मल्लको माहिली छोरी बिजय लक्ष्मी मल्लसंग भएको थियो । वहाँको जेठो ज्वाइ प्रतिमा राणाका श्रीमान पृथ्वीबहादुर पाण्डे, सरदार भीमबहादुर पाण्डेका छोरा एवं नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी हुनुहुन्छ भने प्रतिमा आफै पनि काठमाडौं उपत्यका संरक्षण ट्रष्टको प्रमुखका रुपमा सम्पदा संरक्षणमा सक्रिय छन् । कान्छो ज्वाइ संगीता राणाका श्रीमान सुनिलबहादुर थापा, पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ भने संगीता स्वयं पनि सिद्धार्थ आर्ट ग्यालरीका प्रवर्तक हुनुहुन्छ । जेठो छोरा अशोक राणा हाल हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ भने बुहारी चन्दा राणा सामाजिक कार्य तथा सम्पदा संरक्षणमा लाग्नुभएको छ । चन्दा दिज्यू तथा अशोक राणाजीसंग मेरो पनि केही निकटता छ । कान्छो छोरा अमर राणा भने आफ्नै ब्यापार ब्यबसायमा संलग्न हुनुहुन्छ ।
स्वर्गीय हिमालय शम्शेर राणा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु । साथै सम्पूर्ण परिवारजनमा यस दुखद घडीमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।