काठमाडौं, ३ जेठ, २०८१ः
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वब्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
‘जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ। यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ। नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो। हिमनदीहरू वर्षेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ’– मन्त्री शर्माले भन्नुुभयो– ‘जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ।’
जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट बच्न तथा त्यसको सामना गर्न स्थापना गरिएका विभिन्न कोषबाट नेपाललगायत कम विकसित मुलुकहरूले लाभ पाउनुपर्ने उललेख गर्दै उहाँले थप्नुभयो– ‘यो हाम्रो याचना होइन, न्यायसंगत हक दाबी हो भनेर सरकारले प्रष्टताका साथ अघि सारेको छ। अब हामीले आर्थिक कूटनीतिमा जलवायु कूटनीतिलाई महत्वपूर्ण अङ्गको रुपमा स्थापित गरेर लैजानुपर्ने छ, त्यसका लागि आवश्यक वातावरण बनाउन पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहनेछ।’