काठमाडौँ, जेठ ७, २०८१ः
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको थियो भने तटस्थमा १ मत परेको थियो। बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिनुभएको हो । सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, नागरिक उन्मुक्ति पार्टी, जसपालगायतले मत दिएका थिए ।