काठमाडौँ, जेठ १२, २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा पुनः वृद्धि गरेको छ ।
संघको आज पोखरामा बसेको व्यवसायीहरुको भौतिक र भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो । नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५०० रुपैयाँ पर्नेछ । यो मुल्य यहि जेठ १३ गते आईतबार देखि लागु हुनेछ ।
यस अघि जेठ ५ गते देखि लागू हुने गरि संघले अण्डाको नया मुल्य लागू गरेको थियो, जस अनुसार अण्डाको मूल्य क्रमश ४५०/-, ४६५/- र ४८०/- कायम गरेको थियो।
हप्ता दिन नपुदै किन बढ्यो अण्डाको मुल्य?
नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार बजारमा अण्डाको माग बढ्नु र अण्डाको उत्पादनमा कमि आउनु नै अण्डाको मुल्य बढ्नुको प्रमुख कारण हो। अत्यधिक गर्मि तथा अन्य बिबिध कारणले गर्दा उत्पादकत्वमा आएको ह्रासका कारण अण्डाको मुल्यमा बृद्दि भएको सचिब पोखरेलले नौलोआयाम डटकमलाई बताए।
अण्डाको लागत मुल्य कति?
यहि जेठ १० चितवनमा सम्पन्न भएको एक कार्यक्रममा अण्डाको लागत मुल्य प्रति गोटा रु १६ रुपिया ५६ पैसा पर्ने निचोड निकालेको थियो।
नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा भएको उक्त कार्यक्रममा पोल्ट्री बिज्ञहरुको टिमवाट अण्डा उत्पादनका बिबिध बिषयहरुमा अध्ययन गरी तयार पारिएको अण्डाको लागत मुल्य प्रस्तुत गरेको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह–प्राध्यापक डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उप–प्राद्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल सदस्य रहेको उक्त समितिले अहिलेको लागत मूल्य निकालेको थियो।
‘खोर निर्माण गर्दाको खर्च, चल्लाको मूल्य, दाना, औषधि उपचारमा लाग्ने खर्च, कुखुराको मृत्यु दर, बैंक व्याज लगायतका धेरै कुराहरूको अध्ययन गरेर उत्पादन गर्न लाग्ने आजको औसत मूल्य पत्ता लगाएका छौं। त्यो अहिले अण्डा उत्पादकहरूले पाइरहेको मूल्य भन्दा बढी छ,’ समितिका संयोजक डा रेवन्त भट्टराईले बताए।
के मुल्य बृद्दि संगै किसानलाई राहत होला त?
अण्डाको मुल्य बृद्दि भए पनि किसानलाई राहत पुग्ने देखिदैन। हालै चितवनमा भएको पोल्ट्री बिज्ञहरुको टिमवाट तयार पारेको उत्पादन लागत अनुसार प्रति गोटा अण्डाको मुल्य रु १६ रुपिया ५६ पैसा पर्ने देखिन्छ जस अनुसार हालको बढेको मुल्यमा कारोबार गर्दा पनि नाफा नहुने अबस्था रहेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका सचिब मदन पोखरेलका अनुसार पोल्ट्री बिज्ञहरुको टिमवाट तयार पारेको उत्पादन लागत मुल्यलाई सरकारले न्युनतम समर्थन मुल्य टोकेमा किसानहरु थोरै नाफामा जानसक्ने छन, नत्र यहि अबस्था रहेमा थुप्रै ब्यबसायीहरु बिस्थापित हुनेछ।