१५ देशको सहभागितामा करिब २ सय स्टल रहने
भरतपुर, जेठ १७, २०८१ः
रत्न काजि प्रजापति
चितवनको भरतपुरमा भोलि देखि “अन्तर्राष्ट्रिय पोल्ट्री प्रर्दशनी” शुरु हुदैछ।
नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युप्मेण्ट एशोसियशनको संयुक्त आयोजनामा नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा नविनतम अत्याधुनिक प्रविधिहरुको प्रयोग गरि पोल्ट्रीको व्यवसायिक बिकास गर्ने उद्देश्यले “अन्तर्राष्ट्रिय पोल्ट्री प्रर्दशनी २०२४” हुन लागेको हो।
नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायिक परिचय दिई अन्तराष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशमा भैरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना गर्न लागेको महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिनु भयो।

महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले आज आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्नु हुदै नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानवर्ग लगायतको प्रत्यक्ष संलग्नतामा रहने उक्त प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बंगलादेश लगायत १५ देशका करिब १५० भन्दा वढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुका प्रदर्शनी रहने जानकारी दिनु भयो।
जेठ १८, १९ र २० गते गरी ३ दिन सम्म चल्ने उक्त प्रदर्शनीमा पोल्ट्री व्यवसायका नविनतम प्रयोग सम्बन्धि गोष्ठी, बैठक, अन्तरक्रिया सहित ३ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको पनि आयोजना गरिएको ‘पोल्ट्री पाठशाला’ का संयोजक तथा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष सहप्राध्यापक डा सुबिर सिंहले जानकारी दिनु भयो।
“उक्त प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकहरुद्वारा उत्पादित वस्तुहरुको कम लागतमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन भई उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादनहरु पाउने र देशको अर्थतन्त्रमा हालको खबौको लगानी र लाखौंको रोजगारी बाट महत्वपूर्ण योगदान दिएको पोल्ट्री क्षेत्रको अझै विकास र विस्तार हुनुका साथै भरतपुर भ्रमण वर्ष २०२४ मा समेत उल्लेखनीय टेवा पुग्नेछ। ” नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले भन्नु भयो।
