विराटनगरका २१ उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर, ८ साउन, २०८१ः

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८०/८१ मा २१ वटा खाद्य उद्योग तथा व्यवसाय उपर मुद्दा दायर गरेको छ ।

न्युन गुणस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन गर्ने उद्योग विरुद्ध खाद्य तथा दाना ऐन बमोजिम मुद्दा दायर गरिएको र ६ वटा उद्योग अनुसन्धानको क्रममा रहेको सो कार्यालयले जनाएको छ ।

विराटनगरमा आज आयोजित आर्थिक वर्ष २०८०/०८१ को कार्यालयको आर्थिक प्रगति समीक्षा गोष्ठीमा सो अवधिमा १ सय २८ वटा खाद्य उद्योग निरीक्षण, ८३ वटा होटल रेस्टुरेन्ट अनुगमन साथै ८८ पटक बजार अनुगमन गरिएको साथै कैफियत देखिएका उद्योग पसलमा आवश्यक निर्देशन, बयान तथा नियमानुसार कारबाही गरिएको जानकारी दिइयो ।

कार्यालयको तथ्याङ्क अनुसार नयाँ उद्योग स्थापना हुने क्रम समेत बढेको पाइएको छ । गत वर्ष २ सय २० वटा नयाँ उद्योग स्थापनाका लागि अनुज्ञापत्र लिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताए।

कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै गत वर्ष ८० प्रतिशत वित्तीय प्रगति भएको र ३९ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताउनुभयो ।

कार्यालयका प्रमुख विजय खनालले, सुरुको ३ महिना बजेट प्राप्तीको अन्योलताका बाबजुद कार्यालयले तोकिएको भन्दा बढी लक्ष्य हासिल गरेको बताउनुभयो ।

कोशी प्रदेशका १४ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको उक्त कार्यालयको मातहतमा प्रदेशमा चार वटा डिभिजन कार्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!