सरकारले डेंगी रोग नियन्त्रणका लागि खोप आयात गर्ने : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, साउन ८, २०८१ः

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले खोप आयात गर्ने बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका सांसद प्रतिमा गौतमले पेस गर्नुभएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री पौडेलले जापानले सो रोग नियन्त्रणका लागि खोपको व्यवस्था गरेकाले त्यसलाई नेपालमा पनि भित्र्याउनका लागि मन्त्रालयले काम गर्ने बताउनुभयो। उहाँले सरकारले सो रोग नियन्त्रणका लागि विशेष सावधानी अपनाउने पनि बताउनुभयो। मन्त्री पौडेलले सो रोगको नियन्त्रण तथा रोकथामको कामलाई प्रभावकारी बनाउन देशभर रहेका ५३ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो।

जनतामा चेतना फैल्याउन पनि सो रोगको रोकथाममा लागि महिला स्वास्थ्य स्वयंसेविकाका परिचालन उपयोग हुने मन्त्री पौडेलको भनाइ छ।

उहाँले भन्नुभयो, ‘‘अब यो साउन, भदौ र असोजमा यो बढी सङ्क्रमित हुने स्थिति भएको कारणले हामीले यसमा विशेष सावधानी अपनाउन जरुरी छ। माननीयज्यूको पनि सचेतना अभिवृद्धि गर्ने काममा, समन्वय गर्ने काममा महत्त्वपूर्ण भूमिका हुनसक्छ। त्यसको निम्ति पनि म आग्रह गर्न चाहन्छु। माननीय योगेश भट्टराईले जापानले निकालेको युरोपियन युनियनले आधिकारिकता दिएको खोपको बारेमा सोधखोज गर्नका निम्ति उल्लेख गर्नुभएको छ। त्यसका निम्ति पनि मन्त्रालयले काम गर्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। केही माननीयले महिला स्वास्थ्य स्वयम सेविका परिचालन गर्नुपर्छ भन्नु भएको छ। हाम्रो करिब ५३ हजारको सङ्ख्यामा उहाँहरू हुनु भएकाले उहाँहरूलाई व्यापक ढङ्गले परिचालन गर्ने स्थिति पनि बन्नसक्छ विशेष गरी चेतना अभिवृद्धि गर्ने काममा। यी सबै कुरालाई मन्त्रालयले गम्भीरतापूर्वक लिने त्यस अनुसार कार्य योजना बनाउने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!