मध्यपुर थिमि, १ फागुन २०७९ः
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका स्थायी कमिति सदस्य अमृता थापा मगरले शहिदले बगाएको रगतले आएको वर्तमान व्यवस्थाको रक्षा गर्न र जनताको अवस्था बदल्न एक भएर अघि बढ्नुपर्ने बताएकी छिन । २८ औ जनयुद्द दिबसको अबसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मध्यपुर थिमि नगर कमितिले आयोजना गरेको शहिद परिवार सम्मान, दीप प्रज्वलन तथा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापामगरले जनयुद्धले महिलालाई अधिकार सम्पन्न बनाएको बताउदै उनले राजतन्त्रमा राजाको उत्तराधिकारी समेत छोरी नहुने अवस्थामा गणतन्त्रमा राष्ट्रपति बन्न सफल भएको बताइन ।


संघका नगर अध्यक्ष रत्न केशरि प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा दुई पोखरीमा दीप प्रज्वलन र त्यहाँस्थित जनयुद्धका महान शहिद बैकुण्ठहरी श्रेष्ठको शालिकमा माल्यार्पण गरिएको थियो। उक्त कार्यक्रममा मध्यपुर थिमिबाट जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदहरु बैकुण्ठहरी श्रेष्ठ् र सविन श्रेष्ठको परिवारलाई दोसल्ला ओदाउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा शहिद बैकुण्ठहरीकी पत्नी जगत लक्ष्मी र शहिद सबिन श्रेष्ठकी पत्नी कृष्ण शोभा श्रेष्ठलाई सम्मान गरिएको थियो। फरक आस्था राखेकै कारण जेल परेका बैकुण्ठहरीको जेलमै ज्यान गएको थियो भने सविनलाई पसलबाट गिरफ्तार गरी तत्कालिन राज्य सत्ताले निर्ममतापूर्वक हत्या गरेको थियो ।


नेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा भक्तपुर इन्चार्ज दिलिप कुमार प्रजापति भिष्मले जनयुद्धले देशको राजनीतिक व्यवस्था बदल्न सफल भएपनि जनताको अवस्था बदल्न बाँकी नै रहेको बताए । उनले शहिदले बाँकी कार्यभार बाचेकाहरुको काधमा सुम्पिएको भन्दै त्यो पुरा नहुन्जेल निरन्तर क्रान्तिको पक्षमा आफूहरु लागिरहने जिकिर गरेका थिए ।
नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले शहिदहरुले एक मुठ्ठी सास हुन्जेल पार्टी र क्रान्तिको खातिर गद्दारी नगरेका स्मरण गर्दै अहिले ससाना व्यक्तिगत असन्तुष्टिमा पार्टी र क्रान्तिलाई सत्तोसराप गर्ने ट्रेन्ड देखिएकोमा चिन्ता व्यक्त गरे । जनयुद्धकै जस्तो त्यागी र इमान्दार नेता कार्यकर्ता हुने हो भने शहिदका बाँकी सपना सजिलै पुरा गर्न सकिने उनको भनाइ छ ।
नेकपा(माओवादी केन्द्र) का मध्यपुर थिमि नगर अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले जनयुद्ध दिवसको महत्व माथि प्रकाश पार्दै आफू शहिदले देखाएको बाटोमा हिड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्णलाल गोजाले शहिदहरुको व्यक्तित्व र संगत बारे आफ्ना सस्मरण सुनाएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य द्वय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ त्यसैगरी बागमति प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार डिपी ढकाल, केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य उमा कपाली, केन्द्रीय सल्लाहकार शिवहरी श्रेष्ठ र जिल्ला संयोजक सुनिल गोठे बासु लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम नेकपा माओबादी केन्द्र मध्यपुर थिमि नगर कमितिका सचिब शिब सुन्दर श्रेष्ठले संचालन गरेको थियो।