स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक

काठमाडौँ, २७ साउन, २०८१ः

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै प्रतिबद्धता जनाएको स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता सार्वजनिक गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले यथास्थिति नभै परिवर्तन गर्ने चाहनाले छलफल गरेर कार्यक्रम सार्वजनिक गरेको भन्दै श्रोत सुनिश्चितता समेत गरेर कार्यान्वयन गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

मन्त्री पौडेलले सार्वजनिक गरेको कार्यक्रममा तीनै तहबीचको दोहोरोपन हटाएर एकीकृत प्रणालीमार्फत जनस्वास्थ्य सुधार अघि बढाइने घोषणा गर्नुभएको मन्त्री पौडेलले आफ्नो योजनामा अस्पतालको सेवा, स्वास्थ्य बीमा प्रभावकारी बनाउनेदेखि तीन तहको दोहोरोपन हटाउने अनि नागरिकको स्वास्थ्य सुधारसम्मका विषय समेटेका छन् ।

एकीकृत स्वास्थ्य प्रणाली
संघीय अस्पतालहरूमा बेडभन्दा पनि सेवाका आधारमा वर्गीकरण गरी एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गर्ने योजना पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सुनाउनुभयो ।

समायोजनमा अटाउन नसकेका १ हजार बढी स्वास्थ्य जनशक्तिलाई को समायोजन नभएकोलाई जिम्मेवारी सहित व्यवस्थापन गर्ने मन्त्री पौडेलले घोषणा गर्नुभयो । उहाँले सबैखाले नसर्ने रोगको परीक्षणलाई व्यापक बनाउने घोषणा गर्नुभयो ।

चिकित्सकलाई कार्यदक्षताको आधारमा भत्ता, संघीय अस्पतालमा सेवा थप्ने घोषणा
परम्परागत पद्धति तोड्न आफूले समय लगाएर योजना ल्याएको भन्दै मन्त्री पौडेलले संघीय अस्पतालको सेवा सुधारका लागि कार्यदक्षताका आधारमा चिकित्सकलाई भत्ता दिइने घोषणा गर्नुभयो । उहाँले संघीय अस्पतालमा दुवै सिफ्टमा थालिएको सेवालाई अझ वृद्धि गर्न इन्सेन्टिभ को व्यवस्था गरिने बताउनुभयो ।

सातवटै प्रदेशमा मुटु उपचार, गङ्गालाल पाँच सय शय्यामा विस्तार
लामो योजना सार्वजनिक गरेका मन्त्री पौडेलले राजधानी काठमाडौँमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापनाका लागि पहल गर्ने घोषणा गर्नुभयो । उहाँले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने भन्दै हरेक प्रदेशमा मुटु रोग उपचारको सेवा विस्तार गर्ने योजना सुनाउनुभयो ।

शुल्क तिर्न नसक्ने गरिब तथा असहायलाई शहीद गङ्गालालमा प्राथमिक एन्जियोप्लाष्टि र मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमार्फत निःशुल्क सेवा दिने घोषणा गर्नुभयो । सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपणको सेवा समेत विस्तार गरिने उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले औषधीको मूल्य लामो समयदेखि समायोजन नभएको भन्दै बढी मूल्य लिइएका औषधीको मूल्य घटाउन आवश्यक प्रबन्ध गर्ने घोषणा गर्नुभयो ।

वैदेशिक रोजगारीमा जानेको मृत्यु घटाउन रणनीति
वैदेशिक रोजगारीमा जानेको विदेशमै नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षण व्यवस्थित गरिने मन्त्री पौडेलले घोषणा गर्नुभयो । उहाँले रोजगारीका क्रममा हुने अधिक दुर्घटना र मृत्युको कारण पहिचान गरी न्यूनीकरणको रणनीति बनाएर कार्यान्वयन गरिने बताउनुभयो ।

निरोगी नेपाल: आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रम
मन्त्री पौडेलले घोषणा गरेको कार्यक्रममा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोगको स्क्रिनिंङ तथा उपचारका लागि मापदण्ड बनाएर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मन्त्री पौडेलले घोषणा गरेको निरोगी नेपाल: आगामी पुस्ता निरोगी पुस्ता कार्यक्रमले ४० वर्ष माथिका सबै नागरिकको नसर्ने रोगको स्क्रिनिंग गर्ने विषय समेटेको छ । देशमा बढिरहेको मृगौला रोगको क्षति रोक्न बेलैमा उपचार थाल्न मृगौला स्क्रिनिंग अभियान थाल्ने पनि मन्त्री पौडेलले घोषणा गर्नुभयो ।

‘प्रधानमन्त्रीको आश्वासनले श्रोत व्यवस्थापन हुने आशा’
मन्त्री पौडेलले सुन्दा नीति तथा कार्यक्रमजस्तो लागे पनि आफ्नो योजना कार्यान्वयन हुने विश्वास दिलाउँदै अहिले अभाव देखिएको श्रोत वृद्धिको योजना बताउनुभयो । उहाँले प्रधानमन्त्रीले समेत आफ्नो योजनामा समर्थन जनाएको भन्दै अहिले विनियोजित बजेटभन्दा श्रोत थप हुने विश्वास गर्नुभयो । केहीमा श्रोत सुनिश्चित छैन, उहाँले भन्नुभयो, तर प्रधानमन्त्रीको आश्वासन, प्रदेश तथा दातृ निकायको सहयोगमा यसको व्यवस्थापन हुने आशा छ ।

मन्त्री पौडेलले जनस्वास्थ्यमा असर गर्ने केही क्षेत्रमा कर वृद्धि गरेर पनि श्रोत थप्न सकिने विश्वास व्यक्त गर्नुभयो । आफूले घोषणा गरेका अल्पकालीन योजना तत्काल तथा दीर्घकालीन योजना क्रमैसँग कार्यान्वयनमा जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य-तथा-जनसङ्ख्य-मन्त्रीका-प्राथमिकता-तथा-कार्ययोजना-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!