सीपी ८०८ जातको मकै फलेनः मकै नफल्दा किसान निराश

धादिङ, १९ भदौ २०८१ः

सरकारले नै वितरण गरेको बीउका कारण मकै नफल्दा कृषक समस्यामा परेका छन् । स्थानीय सरकारले वितरण गरेको बीउ रोपेको धादिङ थाँक्रेका किसान मकै न फलेकाले मर्कामा परेका हुन । धादिङको थाक्रे गाउँपालिकाको –६ नम्बर वडाका अधिकांश किसानको मुख्य बाली मकै हो ।

मकै लगाउने बेला वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ लिन आउनु भनेर सूचना जारी गरेपछि यहाँका झण्डै ३ सय ३५ घरधुरी वडाले बाँडेको सीपी ८०८ जातको मकैको बीउ ल्याएर रोपे । वडाले बाँडेको उन्नत जातको बीउ रोपेर धेरै मकै फलाउने अपेक्षा गरेका यहाँका किसान अहिले मकैको बोटमा घोगा नलाग्ने, लागिहाले घोगाभित्र दाना नहुने र भएको पनि कुहिएपछि निराश छन् ।

बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि रानीबारीका किसान चिन्तामा छन् । पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद कमाउने किसानले अहिले आफैँले समेत चाख्न नपाएको गुनासो गरेका छन् ।

बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान समेत सक्ने अवस्था नरहेको हरि थापाले बताउनुभयो । थाक्रे गाउँपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराएको थियो । किसानले सोही बीउ बारीमा लगाएका थिए ।

“बिरुवा हुर्कँदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाहिँ सेतो निस्कियो” थापाले भन्नुभयो, “घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो । केही दिनपछि बोटै सुक्न थाल्यो ।”

सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो । बारीमा ढोड र मकैको घोगा कुहिएर जान सक्ने अवस्था नरहेको थापाको भनाइ छ । हरेक किसानले ६ किलोग्राम मकैको बीउ लगाएका थिए । उक्त बीउ लगाएका सबै किसानको अवस्था दर्दनाक छ ।

गाउँपालिका मार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

“कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल भइरहेको छ” थापाले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!