काठमाडौं २१ भाद्र २०८१ः
बर्दियाको मधुवन नगरपालिका–६ मा गैँडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ भने एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्।
नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ गाइड ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा घटना भएको हो।
घाइतेमध्ये विदेशी नागरिकको भुरिगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ।अर्का घाइते वन हेरालु हुन्।