कोहलपुरमा धुलो दुध कारखाना स्थापनाको संभावना ः ५० लाख रुपियाँ बजेट विनियोजित गरेको कृषि मन्त्रीको भनाई

नेपालगन्ज, २२ भाद्र २०८१ः

बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा धुलो दुध कारखाना (पाउडर प्लान्ट) स्थापना गर्ने पहल सुरु गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य नेतृत्वको एक टोलीले नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारी लगायतका उच्च अधिकारीसँग भेटवार्ता गरी माग पत्र बुझाउँदै सो पहल थालेको हो।

कोहलपुरका नगर प्रमुख आचार्यले आफूहरुले संघीय राजधानी पुगेर कृषि तथा पशुपंक्षी मन्त्री अधिकारी र दुग्ध विकास बोर्डका कार्यकारी अध्यक्ष राजेन्द्रप्रसाद यादव सहितलाई भेट गरी माग पत्र बसझाएर धुलो दुध कारखाना स्थापना गर्न दबाब सृजना गरिएको बताउनुभयो।

उहाँका अनुसार कोहलपुर नगरपालिका–९ स्थित दुग्ध विकास संस्थान, दुग्ध वितरण आयोजनामा असोजदेखि चैतसम्म दैनिक आठ हजार लिटर र असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन महिनामा त्यो भन्दा बढी दुध उत्पादन हुने गरेको छ । जसका कारण मिल्क होलिडेको मारमा किसान पर्दै गएपछि धुलो दुध कारखानाको माग गरिएको हो ।

कृषि मन्त्री अधिकारीले भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट धुलो दुध कारखानाका लागि ५० लाख रुपियाँ बजेट समेत विनियोजित भएको जानकारी दिनुभयो।

करिब ५० करोडको लागतमा बन्ने धुलो दुध कारखानाका लागि कोहलपुर ९ पिपरी स्थित दुग्ध विकासको चार विगाह बढी जग्गा मापदण्ड अनुसार भएकाले ६ महिना भित्र काम अगाडि बढ्ने छ।

कोहलपुरमा रहेको दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरीगाउँ चिस्यान केन्द्रबाट दुध संकलन गर्दै आएको छ । त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतको छिन्छु दुग्ध चिस्यान केन्द्र र बाँकेको कोहलपुर आयोजना कार्यालयबाट समेत दुध संकलन हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!