काठमाडौं, भाद्र २३, २०८१ः
नेपाल प्रहरीले मातहतका कर्मचारीहरूलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिविना राजनीतिक लगायत विभिन्न शक्ति केन्द्रसँग भेटघाट गर्न रोक लगाएको छ ।
प्रहरी प्रधान कार्यालयले आइतबार आन्तरिक परिपत्र गरी तालुक कार्यालयको स्वीकृतिविना कसैले अमुक व्यक्ति तथा शक्ति केन्द्रसँग भेट गर्न नपाउने व्यवस्था गरेको हो । प्रहरी प्रधान कार्यालयबाट जारी परिपत्र उल्लङ्घन गरी अनुमतिबिना भेटघाट गर्ने कर्मचारीलाई अभिलेखमा जनिने गरी हदैसम्मको विभागीय कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
‘कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य कुनै अमुक शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपर्नाको प्रयोजन खुलाइ तालुक कार्यालयमा जाहेरी गरी पूर्व स्वीकृति लिएर गरिने सम्पर्कबाहेक सङ्गठनको मूल्यमा व्यक्तिगत स्वार्थ पूर्तिको लागि गरिने अशोभनीय भेटघाट, साङ्गठनिक कामकारबाहीमा बाह्य प्रभाव पार्नेलगायतका कुनैपनि गैरव्यावसायिक अनुशासनहीन एवं आत्मकेन्द्रित क्रियाकलापमा कुनैपनि प्रहरी कर्मचारी संलग्न रहे/भएको पाइएमा त्यसलाई नै प्रमाणको रुपमा लिई अभिलेखमा जनिने गरी प्रहरी नियमावली बमोजिम हदैसम्मको सजाय हुने हुँदा सो व्यहोरा गम्भीरतापूर्वक हृदयङ्गम गरी कार्यालय प्रमुख तथा मातहतमा काम गर्ने सबै प्रहरी कर्मचारीलाई सुनी सुनाई सोको व्यहोरा यस सचिवालयमा प्रेषित गर्नु हुन निर्देशानुसार अनुरोध छ,’ प्रहरी प्रधान कार्यालयले देशभरका मातहत युनिटमा गरेको आन्तरिक परिपत्रमा भनिएको छ ।
सरुवा, बढुवा, पुरस्कारलगायत विभिन्न वृत्ति विकाससम्बन्धी निर्णयमा अधिकृत तथा जवानहरूले मन्त्री, प्रशासक, सांसद, राजनीतिक दलका नेताकार्यकर्ता, व्यापारीलगायत विभिन्न शक्ति केन्द्रबाट प्रहरी प्रधान कार्यालयमा दवाव दिएपछि यो परिपत्र जारी गर्नु परेको स्रोतको दाबी छ ।
परिपत्रमा पेशागत अनुशासनयुक्त स्वच्छ एवं व्यवसायिक प्रहरीको रुपमा मुलुक र नागरिकको सेवामा खटिनु पर्ने प्रहरीमा आवद्ध केही सदस्यहरू साङ्गठनिक मूल्य र मान्यताको बर्खिलाप सङ्गठनको गरिमा तथा मर्यादामा आँच आउने गरी व्यक्तिगत स्वार्थ तथा अभिलाषा पूर्तिको लागि साङ्गठनिक मूल्य मान्यता एवं आदेशको शृङखलालाई वेवास्ता गरी विभिन्न शक्तिकेन्द्र तथा व्यक्तिलाई भेट गर्दै हिँड्ने तथा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्ने कार्यमा संलग्न हुँदा साङ्गठनिक अनुशासनको क्रम भङ्गता भएको पनि उल्लेख छ ।