मध्यपुर थिमि, २३ भाद्र २०८१ः
रत्न काजि प्रजापति
थिमि डोजोको आयोजनामा दोस्रो भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता हुने भएको छ।
२०५२ सालमा स्थापना भएको थिमि डोजोका संस्थापक अध्यक्ष स्वर्गिय प्रेम कृष्ण माक श्रेष्ठको स्मृतिमा आयोजाना हुने उक्त प्रतियोगिता यहि भाद्र २९ गते शनिबार यचु पार्टी भेन्यू, मध्यपुर थिमि ४, शंखधरचोकमा हुने छ।

कराते खेलको विकास र विस्तार तथा खेलाडी विच भाईचारा बढाउनुका साथसाथै अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा बढाउने लक्ष्य अनुरुप नयाँ तथा राम्रा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक सुबन कायस्थले जानकारी दिनु भयो।

प्रतियोगितामा पुरुष तर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ किलो तौल समुह तथा खुल्लामा र महिला तर्फ ३०, ३५, ४०, ४५, ५०, ५५, ६० किलो तौल समुह तथा खुल्लामा प्रतिस्पर्धा हुने छ। साथै पुरुष एकल काता र महिला एकल काता तर्फ पनि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम, द्वितिय तथा तृतिय हुनेलाई मेदल तथा प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी तथा उदयमान खेलाडी तर्फ पुरुष १ र महिला १ लाई पुरुस्कृत गरिने छ साथै उत्कृष्ट १ टिमलाई पनि पुरस्कार प्रदान गरिनेछ।
प्रेमलाल भासिमा, उमेश श्रेष्ठ, चन्द्र कृष्ण प्रजापति, सुनिल नकर्मि जस्ता थुप्रै सफल रास्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलाडी उत्पादन गरिसकेको थिमि डोजोले २०५८ सालमा प्रथम भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिता सफलता पुर्बक आयोजना गरेको थियो।