इन्जिनियरविरुद्ध झण्डै दुई करोड भ्रष्टाचार आरोपमा अख्तियारद्वारा मुद्दा

काठमाडौँ, २७ भाद्र २०८१ः

लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध एक करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बाबुल निर्माण सेवाले एकल तथा जे.भी.लाई ठेक्का मिलाइदिने नाममा योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेको देखिएपछि मुद्दा दायर भएको हो।

बाबुल निर्माण सेवाका प्रोप्राइटर घुस बापत ८० लाख रुपियाँ जम्मा गराएको अनुसन्धानबाट खुलेको छ। निर्माण कम्पनीका प्रोप्राइटर एकल दस्तखतबाट सञ्चालित अर्घाखाँची–बाबुल जे.भी. को खाताबाट विभिन्न बैङ्क खातामा एक करोड पाँच लाख रुपियाँ भट्टराईलाई दिएको खुलेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

भट्टराईले घुस रकमबाट भक्तपुर, साबिक गुण्डु गाविस वडा नम्बर ३ हालको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित कि नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० का जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

कोषको योजना प्रमुख बन्दा सरकारी सम्पत्तिको गैरकानुनी ढङ्गले दुरुपयोग गरेको देखिएपछि भट्टराईमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत कसुरमा अख्तियारले भट्टराई र उहाँकी आमाविरुद्ध मुद्दा दायर गरेको हो।

भट्टराईविरुद्ध अख्तियारले एक करोड ८५ लाख रुपियाँ बिगो कायम गर्दै बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!