भक्तपुर, २९ भाद्र २०८१ः
भक्तपुर नगरपालिका वडा नं. २ व्यासीबाट ठगी गर्ने महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । कम तौलको सुनको गहना बनाई नक्कली बिल सहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गर्ने गिरोहका उनीहरुलाई पक्राउ गरिएको हो ।
विभिन्न ठगीका मालसामन सहित ती महिलाहरुलाई पक्राउ गरिएको हो । प्रहरी वृत्त सातदोबाटो ललितपुरमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका लागि ती महिलाहरुलाई वृत्त सातदोबाटो पठाइएको जनाइएको छ ।
पक्राउ पर्ने महिलाहरुमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने बर्ष ५५ की मनमाया थापा मगर, उदयपुर आमबासी घर भई जिल्ला ललितपुर इमाडोल बस्ने बर्ष ५४ की चन्द्रकला विश्वकर्मा, सप्तरी सप्तकोशी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने बर्ष ४० की राधा विश्वकर्मा रहेका छन।
निजहरुबाट सुन जस्तो देखिने पहेलो धातुको तिलहरी – ४ थान, चुरा – २ थान, बाला – १ थान, नाकको फुलि र पेच – १५.८० ग्राम, हरियो र पहेलो रंगको पोते – ३०÷३० थान, विभिन्न ज्वेलर्सहरुको बिल – १५ थान, बन्दकी राख्दा लिने दिने कागज चिट – ३० थान, विभिन्न भिजिटिङ कार्ड – ३० थान, नगद रकम रु. ३,४२,५००।– (तिन लाख बयालिस हजार पाँच सय) बरामद गरेको छ।