मिसन २०८४ सफल पार्न एमालेले ल्यायो १८ बुँदे कार्ययोजना

काठमाडौं, २९ भाद्र २०८१ः

नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिसन २०८४ सफल पार्नका लागि १८ बुँदे वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पारित गर्दै १८ बुँदे कार्ययोजना सार्वनिक गरेको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा निर्णय जानकारी गराउँदै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको जानकारी दिनुभयो। वार्षिक कार्य योजनाबमोजिम अब पार्टीका सबै कमिटीहरू परिचालन हुने पोखरेलले बताउनुभयो। जसमा पार्टी सदस्यता नवीकरण,विस्तार र अभिलेखीकरणको कामलाई एमालेले कार्य योजनाको पहिलो विषयमा समेटेको छ ।

त्यस्तै नियमित रूपमा अधिवेशन र व्यवस्थापन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा समेटिएको छ। एमालेले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएको छ।

यस्ता छन् १८ बुँदे कार्य योजना

१. सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण ।

२. नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मङ्सिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने)।

३. अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई ३ महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने ।

४. कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने विधि बसाल्ने।

५. पार्टी कमिटी परिचालन र अन्तर्विरोध व्यवस्थापनको प्रणाली बसाउने।

६. पार्टी स्कुल सञ्चालनलाई अभियानको रूपमा चलाउने। प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनै पर्ने।

७. सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने । जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने।

८. पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थापन गर्ने । केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने।

९. पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने । हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने।

१०. कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने।

११. हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने। त्यस अनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने।

१२. पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने।

१३. बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने । नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसङ्गठन परिचालन गर्ने।

१४. प्रवासमा रहेका प्रवासीबिचको कामलाई देश हितको पक्षमा परिचालन गर्ने।

१५. पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने।

१६. नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र सम्पन्न हुन बाँकी सबै काम सम्पन्न गर्ने।

१७. पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने।

१८. पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘यूथ समिट’ आयोजना गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!