पर्व मेला २०८१ अन्तर्गत वडा दशैं जुत्ता चप्पल व्यापार मेला र काडा अटो शो २०८१ आयोजना हुनेः ५० हजार भन्दा बढीले मेला अवलोकन गर्ने

भरतपुर, २९ भाद्र २०८१ः
शिब प्रसाद बराल

चितवन उद्योग संघको आयोजनामा भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा “पर्व मेला २०८१” आयोजना हुने भएको छ। पर्व मेला २०८१ अन्तर्गत बेस ग्लोबल प्रा.लि.को सहकार्यमा यहि असोज १ गतेदेखी २४ गतेसम्म वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ तथा चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनको सहआयोजनामा काडा अटो शो २०८१ आयोजना हुनेछ। आज आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका प्रमुख दिनुप कुमार बरालले उक्त कुराको जानकारी गराउनु भएको थियो ।

उक्त मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरि आकर्षक छुटमा खरिद गर्न सकिनेछ। मेलामा बेश ग्लोबल प्रा.लि., शुभकामना फुटवेयर इण्डष्ट्रिज, लालीगुराँस फुटवेयर इण्डष्ट्रिज, भेनस सुज इण्डष्ट्रिज, पवित्रा शु इण्डष्ट्रिज प्रा.लि., आर्जन फुटवेयर एण्ड गार्मेन्ट इण्डष्ट्रिज प्रा.लि., सुरबी पोलिमर्स, शिखर शु इण्डष्ट्रिज प्रा.लि. बाट उत्पादित बिभिन्न ब्राण्डका हजार भन्दा बढि मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिने छ । बिभिन्न जुत्ता, चप्पल खरिदमा १५ देखि ५०% सम्म छुटका साथै खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था पनि गरिएको छ। मेलामा करिब १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, बिदेशी जुत्ता चप्पल तथा छालाका बस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका बस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने तथा उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु वडा दशैं जुत्ता चप्पल व्यापार मेला–२०८१ को मुख्य उद्देश्य रहेको सह–आयोजक संस्था वेश ग्लोबल प्रा.लि.का अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

त्यस्तै, पर्व मेला २०८१ अन्तर्गत नै चितवन अटोमोबाइल डिलर्स एशोसियसन (काडा)को सहकार्यमा चितवनमा नै पहिलो पटक काडा अटो शो २०८१ आयोजना हुनेछ। विशेषगरी नेपालीहरुले महान पर्व वडादशैंको सन्दर्भमा सवारी साधनहरु खरिद गर्ने प्रचलनलाई सहयोग पुर्याउन काडा अटो शोमा एउटै छानामुनी २० भन्दा बढी ब्राण्डका गाडी तथा मोटरसाइकलका स्टलहरु रहने सह–आयोजक संस्था चितवन अटोमोवाइल्स डिलर्स एशोसिएसनका कोषाध्यक्ष यज्ञप्रसाद पौडेलले बताउनुभयो ।
उक्त मेला अवधिभर प्रदर्शनी स्थलमा नै बैंक तथा विमाको सुविधाका साथै पुरानो गाडीसँग नयाँ गाडीको सट्टापट्टाको सुविधा रहनेछ । काडा अटो शो २०८१ मा रहने गाडी तथा मोटरसाइकलहरु मध्ये करीब ८०% विद्युतीय सवारी साधनहरु रहने र करीब ३० करोडको कारोबार हुने लक्ष्य लिइएको कोषाध्यक्ष पौडेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले ५० हजार भन्दा बढीले मेला अवलोकन गर्ने तथा पर्व मेला २०८१ ले विश्वमा देखिएको आर्थिक मन्दीको कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र भरतपुर भ्रमण वर्ष २०२४ मा आन्तरिक पर्यटकलाई आर्कषण गर्न सहयोगी हुने बताउनुभयो ।

निःशुल्क प्रवेशको व्यवस्था सहित आयोजना हुने पर्व मेला २०८१ बिहान ९ः०० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा फुटवेयर मेनुफ्याक्चर एशोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले धन्यवाद मन्तब्य राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!