केराखेतीप्रति किसानको आकर्षणः बार्षिक १४ लाख सम्मको आम्दानी

दाङ, भाद्र ३१, २०८१ः

दाङमा पछिल्लो समय केराखेती प्रति किसानकोआकर्षण बढ्दै गएको छ। देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो।

राप्ती गाउँपालिका–७ सिसहनियाका विद्याबहादुर चौधरी बिगत चार वर्षदेखि केराखेती गर्दै आएका छन्। तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लागेका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताए। रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी बताउँछन्। चौधरीले भने, ‘उत्पादन भएको केरा बिक्रीमा समस्या छैन, अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका छन्।’ भारतबाट आउने केराले स्थानीय व्यवसायीलाई असर गर्ने गरे पनि जिल्लामा थोरै उत्पादन हुने गरेकाले अझै त्यो खालको समस्या बेहोर्नु नपरेको उनी बताउँछन्।

सोही ठाउँका रणप्रसाद सुवेदीले पनि छ बिघा जमिनमा व्यावसायिक केराखेती गर्दै आएका छन्। अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले तीन वर्षदेखि उनी व्यावसायिक केराखेतीमा लागेका हुन्। केराखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धानखेती हुने जमिन मासेर केराखेतीमा लागेको उनले बताए। थोरै लगानीमा एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केराखेतीमा लागेको उनले बताए। उत्पादन भएको केरा अहिले बिक्रीको समस्या नभएको भन्दै सुवेदीले बताए। उनले भने, ‘केराको बिक्रीमा पनि समस्या छैन। उत्पादन भएको केरा राम्रै मूल्यमा बिक्री हुने गर्छ।’

कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा छ सय ७० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ। त्यसमध्ये पाँच सय ३० हेक्टरमा रोपेको केराले वार्षिक चार हजार पाँच सय ३५ मेट्रिक टन उत्पादन दिने गरेको छ। यो उत्पादनले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वमा बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको कृषि अर्थविज्ञ लामिछाने बताए।

जिल्लामा देउखुरीको राप्ती, गढवा गाउँपालिकासँगै घोराही उपमहानगरपालिका, शान्ति नगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!