एसियाली कराते खेल्न नेपाली टोली चीन जाँदै 

काठमाडौँ, भदौ ३१, २०८१ः

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एसियाली क्षेत्रको करातेको सबै भन्दा ठुलो प्रतियोगिता एसियाली सिनियर करातेको २०औँ संस्करण यहि सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ ।
सोहि प्रतियोगितामा भाग लिन ११ खेलाडी सहित १८ सदस्यीय नेपाली टोली मङ्लबार हाङझाव प्रस्थान गर्दैछ ।

१९औँ एसियाली खेलकुदमा सहभागिता जनाएको एरिका गुरुङले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ भने ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले प्रतिस्पर्धा गर्नुहुनेछ । एलिसाले एकल कातामा पनि आफ्नो कौशला प्रदर्शन गर्नुहुनेछ ।

यस्तै पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम, ८४ केजीमाथि आशिष् श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ।

टोलीको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ र प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ हुनुहुन्छ । टिम व्यवस्थापकमा नेपाल कराते महासङ्घका उपाध्यक्ष मजेन्द्र सिंह र रवि महर्जन हुनुहुन्छ । प्रतियोगितामा ३१ राष्ट्रका तीन सय ६७ खेलाडीको सहभागिता रहने छ । पुरुषमा नौ र महिलामा आठ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एसियाली सिनियर करातेमा नेपाल हालसम्म पदकविहीन छ ।

प्रतियोगिता अघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासङ्घको कंग्रेसमा सहभागी हुन नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जानुहुन्छ ।

कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सोमबार बिदाइ गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!