वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेला–२०८१ को शुभारम्भः करिब २ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा

भरतपुर, असोज १, २०८१ः
शिब प्रसाद बराल

चितवन उद्योग संघको आयोजना र वेश ग्लोबल प्रा.लि. को सह–आयोजनामा पर्व मेला २०८१ अन्तर्गत वडा दशैं स्वदेशी जुत्ता चप्पल व्यापार मेला आज शुभारम्भ भएको छ। बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले उक्त मेलाको समुदघाटन गर्नु भयो।

मेलाको समुदघाटन गर्दै प्रमुख अतिथि मन्त्री तामाङ्गले स्वदेशी उद्योगहरुबाट उत्पादन भएका वस्तुहरुलाई मेलाको माध्यमबाट एउटै छानामुनी प्रदर्शन तथा प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलाले समग्र उद्योग क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।

संघका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्य प्रसाद न्यौपाने स्वागत मन्तब्य राख्दै सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन यस प्रकारका मेला प्रर्दशनीहरुको अयोजना गरिएको ्बताउनु भयो।

वेश ग्लोबल प्रा.लि. का अध्यक्ष होमनाथ उपाध्यायले मेलाको बारेमा जानकारी दिनु भएको उक्त कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, जिल्ला समवन्य समितिका कार्यालय प्रमुख नारायण प्रसाद अधिकारी, फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशनका अध्यक्ष रुद्र न्पौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आज देखी असोज २४ गतेसम्म सञ्चालन हुने उक्त मेलामा ८ स्वदेशी उद्योगका करिब ३५ ब्राण्डका जुत्ता, चप्पल बिक्रीमा राखिने छ भने करीब ३५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र २ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई १५ देखि ५० प्रतिशत छुटको व्यवस्थाका साथै कुपनको व्यवस्था गरिनेछ । असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ । साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

१ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेलाले भरतपुर भ्रमण वर्ष २०२४ मा आन्तरिक पर्यटकलाई आर्कषण गर्न सहयोगी हुने विश्वास लिइएको छ । निःशुल्क प्रवेशको व्यवस्था सहित आयोजना हुने पर्व मेला २०८१ बिहान ९ः०० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!