भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणको तयारी बारे अर्थमन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल

काठमाडौं, ३ असोज २०८१ः

भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन छलफल भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधासम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो।

परामर्शदाताले नेपालको आवश्यकताअनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधासम्पन्न अस्पताल निर्माण अघि बढाउने सहमति भएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

स्वास्थ्यमन्त्री पौडेलले परामर्शदाता छनोट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने बताए। बैठकमा निर्माण सम्पन्न भई सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरूको सञ्चालन, स्वास्थ्य बीमालगायतका विषयमा पनि छलफल भएको थियो।

२०७३ मा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्न करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!